ad ad

राजनीति


सांसदको चिन्ता : सरकारको आलोचना गर्दा माननीय नै थुनिन्छन्, नाङ्गै घुमाउने धम्की दिन्छन्

सांसदको चिन्ता : सरकारको आलोचना गर्दा माननीय नै थुनिन्छन्, नाङ्गै घुमाउने धम्की दिन्छन्

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८० मंगलबार १२:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले अहिले सरकारको आलोचना गर्न पनि डराउनुपर्ने अवस्था रहेको बताएकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उपस्थित भएर मंगलबार बसेको संघीय संसद् राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कार्कीले यस्तो बताएकी हुन्।

स्वतन्त्र सांसद डा. अमरेश सिंहले सरकारको सुशासनमा प्रश्न उठाउँदै विभिन्न अडियो सार्वजनिक गरिरहेकोतर्फ इंगित गरेकी उनले आलोचना गर्न पनि डराउनुपर्ने अवस्था रहेको बताइन्। 

‘सरकारको आलोचना गरौँ सुनिल शर्मा जस्तै थुन्छु भन्छन्। भ्रष्टाचार र अनियमितताबारे बोल्यो भने डा. अमरेश सिंहलाई जस्तै नाङ्गै बनाएर घुमाउँछु भन्छन्। अब सरकारले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने व्यवस्था गर्नुपर्छ।’

अमरेशले प्रधानमन्त्री, स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुत्रको नाम भ्रष्टाचारमा मुछेर बोलिरहँदा सरकार मौन बसेको उनले बताइन्।

कार्कीले सांसदले उठाएको कुरामा सरकार चुप लागे बस्नु रहस्यमय भएको बताइन्। ‘यदि अमरेश सिंह गलत भए उनलाई कारबाही गर्न सरकार तयार हुनुपर्छ’, उनले भनिन्, ‘होइन भने सरकारले यसबारे छानबिन गर्नुपर्छ।’

यो सरकार आएयता एकपछि अर्को काण्ड आएको उनले बताइन्। तर ती काण्डमा गम्भीरतापूर्वक छानबिन नगरी समिति बनाएर टार्न खोजिएको उनले बताइन्। 

प्रधानमन्त्रीको हातमा सबै शक्ति भएर पनि सरकारले सुशासनमा गतिलो काम गर्न नसकेको उनले बताइन्। 

कार्कीले एनसेल खरिद-बिक्री प्रकरण प्रधानमन्त्रीलाई थाहा नदिइ सम्भव नहुने पनि बताइन्। 

‘प्रधानमन्त्रीको जानकारीबिन ८० अर्बमा एनसेल खरिद-बिक्री सम्भव छैन’, उनले सोधिन्, ‘वि.सं. २०८६ मा एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन? यसको भरपर्दो उत्तर सरकारले दिन सक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .