ad ad

राजनीति


पर्यटनमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा प्रदर्शन

पर्यटनमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा प्रदर्शन

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:१७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन्।

मन्त्री किराँतीले बुधवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए।

बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरूलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर विरोध भइरहेको छ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गइ अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए।

उनले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे। मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उनको भनाइ छ।

उनले भने, ‘जसले क्रिश्चियनलाई स्वीकार्दैन, उनीहरु सबै जेल जान योग्य छन्, संविधान बिरोधी हुन् भनेर जुन बोल्नुभयो, नेपालमा सबै क्रिश्चियन विरोधी त छैनन्, क्रिश्चियन नबन्नेजति देशद्रोही हुन् भन्नेकुरा के बुझेर भन्नुभयो। सामाजिक सद्भाव बिगार्ने काम गर्नुभयो।’

उनले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले बुधवारमात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो।

अहिले सो नियुक्ति पनि विवादित बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .