ad ad

राजनीति


कांग्रेसको मधेस सम्मेलन उद्घाटनमै किचलो, प्रदेश सभापतिमाथि भ्रष्टाचार आरोप

कोइराला पक्षद्वारा उद्घाटन सत्र बहिष्कार
कांग्रेसको मधेस सम्मेलन उद्घाटनमै किचलो, प्रदेश सभापतिमाथि भ्रष्टाचार आरोप

तस्बिर : रासस


नेपालखबर
पुस ५, २०८० बिहिबार १६:२१, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेस मधेस प्रदेशको बिहीबारदेखि धनुषाधाममा सुरु प्रथम सम्मेलनको उद्घाटनका क्रममै किचलो देखिएको छ।

प्रदेश सभापति कृष्ण यादवले एकलौटी रुपमा पेलेर अघि बढेको भन्दै डा. शेखर कोइराला पक्षले सम्मेलनको उद्घाटन सत्र नै बहिष्कार गरेको छ।

सभापति यावदविरुद्ध कोइराला पक्ष उत्रिरहँदा सम्मेलनको उद्घाटनमा आसनग्रहणका क्रममा पनि विवाद भएको छ। मर्यादाक्रमलाई लिएर विवाद हुँदा कोइराला पक्षले उद्घाटन सत्र नै बहिष्कार गरेको हो। 

केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटनस्थलमै कोइराला पक्षले पम्प्लेटसहित प्रदर्शन गरेका थिए। सभापति देउवा र महामन्त्री गगनकुमार थापा पनि उपस्थित सम्मेलनको खुलासत्रमै लफडा भएको हो। 

आसनग्रहणका क्रममा कोइराला पक्षका नेताहरूले बहिष्कार गरिरहँदा अर्का नेता बिमलेन्द्र निधि पनि मञ्चमा बस्न मानेनन्। उनको नाम पटक पटक उद्घोषकले लिए पनि निधि आसन ग्रहणको मर्यादाक्रमलाई लिएर असन्तुष्ट भएर मञ्चमा नगएका हुन्। 

कोइराला पक्षका एकजना नेता रञ्जित कर्णले मधेस प्रदेश कार्यसमितिको सम्मेलनमा वरिष्ठ नेता डा. कोइरालालाई विभिन्न बहाना बनाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएा छन्। 

मधेसको नेतृत्व एकलौटी रूपमा अगाडि बढ्दा कांग्रेस र मधेस प्रदेशको एकतामा अवरोध आउने पनि उनको भनाइ छ। 

तस्बिर : रासस

प्रदेश सभापतिमाथि गम्भीर आरोप
यसैबीच कांग्रेस प्रदेश सभापति एवम्  मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका कृष्ण यादवमाथि शेखर कोइराला पक्षले भ्रष्टाचार जस्तो गम्भीर आरोप पनि लगाएको छ।

उक्त गम्भीर आरोप लगाउँदै कोइराला पक्षले बिहीबार सम्मेलनस्थलमै कोइराला पक्षले केन्द्रीय सभापति देउवालाई एक पत्र नै बुझाएका छन्। 

जुन पत्रमा कांग्रेस मधेस प्रदेश कार्य समितिको कामले पार्टी संगठन नै ध्वस्त हुन गइरहेको उल्लेख गरिएको छ। सभापति यादवले पार्टी हितका लागि विचार राख्नेलाई बेवास्ता गरी पार्टी संगठन एकलौटी रुपमा सञ्चालन गरी ध्वस्त बनाइरहेको जानकारी कोइराला पक्षले देउवालाई गराएका हुन्। 

सभापति यादव आफ्नै नेतृत्वमा प्रदेश सरकारमा सहभागी भइरहँदा पनि सरकारको कामकाज प्रभावकारी नदेखिएको उनीहरूले जनाएका छन्।

सभापति यादवले सम्हालेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा व्यापक अनियमितता भइरहेको पनि उनीहरूको आरोप छ। यसका कारण सम्पूर्ण पार्टी पंक्ति नै बदनाम भइरहेको दाबी कोइराला पक्षका नेताहरूले गरेका छन्। 

पार्टीको १४ औँ महाधिवेशनको भावनाअनुसार पार्टीको मधेस प्रदेश कार्य समिति अघि नबढेको पनि उनीहरूले बताएका छन्। 

‘प्रदेश सभापति यादवले पार्टीमा फरक विचार राख्नेलाई बेवेवास्ता गर्नुका साथै अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आएको अवगत गराउन चाहन्छौँ’, कोइराला पक्षका नेताहरू रञ्जित कर्ण र नरेशकुमार यादवसहितका नेताले बुझाएको पत्रमा भनिएको छ, ‘प्रदेश कार्य समितिमा सभापति यादवले कसैसँग राय परामर्श नगरी एकलौटी प्रदेश सदस्य र विभागहरुको संयोजकलगात मनोनयन गर्दै गुटबन्दीलाई प्रश्रय दिँदै आएका छन्। प्रदेश कार्य समितिमा संगठनको हितमा बोल्नेलाई पाखा लगाई बैठकको जानकारी नगराउनुका साथै आफैँ बैठकमा उपस्थित हुनेलाई उपस्थिति र बैठकको निर्णय पुस्तिकामा समेत हस्ताक्षर गर्न नदिइरहेको जानकारी गराउन चाहन्छौँ।’

प्रदेश सभापति यादवले मन्त्रालयमा खुलेआम अनियमितता  गरेको आरोप पनि उनीहरूको छ। ‘पार्टी संगठनको हितविपरीत गर्दै आएको कामको विरोध गर्नेलाई सरकारमा सहभागी नगराउनुका साथै संसदीय समितिहरूमा समेत पाखा लगाएको अवगत गराउन चाहन्छौँ’, उनले भने, ‘प्रदेश सभापति यादव मधेस सरकारमा सहभागी भएर महत्वपूर्ण मन्त्रालय सम्हाले पनि त्यसको औचित्य नदेखिएकोले प्रदेशभरि नेपाली कांग्रेसको आलोचना भइरहेको दुःखका साथ जानकारी गराउन चाहन्छौँ।’

उनीहरूले आफैँ अग्रसरता लिई पार्टीको मधेस प्रदेश कार्य समितिलाई विधानअनुरुप संचालन र सरकारमा भइरहेको अनियमिततालगायत समस्या समाधानका लागि पनि आग्रह गरेका छन्। 

‘समधेस प्रदेश कार्य समिति र मधेस सरकारमा देखिएको अराजकताले यस प्रदेशमा पार्टी नै सिद्धिने चिन्ताले आमकार्यकर्ता तथा नेतालाई पिरोलिरहेको बारेमा जानकारी गराउन आएका छौँ’, उनीहरूले भनेका छन्, ‘यी यावत समस्याको तत्काल समाधानका आगि अनुरोध छ।

विवादबीच सम्मेलनको उद्घाटन अहिले चलिरहेको छ। शुक्रबारसम्म चल्ने सम्मेलनमा मधेसका ८२५ जना प्रदेश प्रतिनिधि सहभागी छन्। उद्घाटन सत्रलाई कांग्रेसले शक्ति प्रदर्शनको माध्यम पनि बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .