ad ad

राजनीति


सांसदहरूसँग पर्यटनमन्त्रीले सोधे : काम नगरी कुर्सीमा बसौँ कि विवादित भएर अघि बढौँ?

सांसदहरूसँग पर्यटनमन्त्रीले सोधे : काम नगरी कुर्सीमा बसौँ कि विवादित भएर अघि बढौँ?

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १९:५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अनेक समस्याका कारण काम गर्न नसकिएको बताएका छन्। 

वायुसेवा निगम सुधार र आगामी योजनाबारे प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको छलफलका क्रममा उनले काम गर्न नसकिएको बताएका हुन्। 

सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा किरातीले नीतिगत उल्झन र सरोकारवाला निकायको ताकेताका कारण प्रभावकारी काम गर्न नसकिएको स्वीकारे। 

‘काम नगरी कुर्सीमा बसुँ या विवादित भएर पनि अगाडि बढौँ भन्ने प्रश्न तेर्सिएको छ, भनेजति काम गर्न सकिएको छैन’,पर्यटनमन्त्री किरातीले भने, ‘एउटा काम गर्न थाल्नुपर्छ, अख्तियार र राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ। महालेखापरीक्षकको कार्यालयलाई जवाफ दिनैपर्‍यो। अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ। धाउँदाधाउँदै जुत्ता फाटिसक्यो काम कहिले गर्ने आफैँलाई प्रश्न गरिरहेको छु।’

पर्यटनमन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए। 

तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे। राजनीतिक अस्थिरता, चाँडो चाडो मन्त्री फेरिने परिपार्टीले पनि काम गर्न नसकिएको पर्यटनमन्त्रीले बताए। 

करौडौँ घाटा बेहोरिरहेको चिनियाँ जहाज बिक्री गर्नुको विकल्प नरहेको पनि उनले उल्लेख गरे। 

‘चिनियाँ जहाज सेतो हात्ती भयो भनेर हामी सांसद नै सदनमा हङ्गामा गर्ने निकास दिनैपर्‍यो भनेर टेण्डर गरियो। वर्षमा रु २० करोड बढी घाटा बेहोरेर चिनियाँ जहाज घाम तापिरहेका छन्’, पर्यटनमन्त्री किरातीले भने।

किरातीले प्रशिक्षक पाइलट अभाव, तुलनात्मक रुपमा इन्धन महङ्गो हुने, पाटपूर्जा पनि नपाइने, भारबहान क्षमता पनि कमजोर भएकाले जहाज बिक्री गर्नैपर्ने बाध्यता रहेको उल्लेख गरे। 

उनी त्यतिमा मात्रै रोकिएनन्, सांसदले उठाएको मिडियामा विवादित अभिव्यक्तिको स्पष्टीकरण दिए। अन्तिममा पर्यटनमन्त्रीले बैठकमा विषयान्तर भएको र जे एजेण्डा हो त्यमा बहस नभएको गुनासो गरे।


मन्त्रीले आफ्ना भनाइ सकेलगत्तै सांसद प्रेम सुवालले पुनः आफ्ना कुरा राख्ने प्रयास गरे। यद्यपि सभापति यादवले उनलाई रोके। ‘तपाईं चुप लाग्नुस्, विषयान्तर भो, समितिको गरिमाको कुरा उठ्यो’, सभापतिले यति भनेपछि माहोल तात्यो। 

अन्य सांसदहरूले पनि प्रश्न गर्न खोज्दा सभापतिले बैठक सकियो भनेर निर्णय सुनाएका थिए। 

प्राधिकरणलाई निर्देशन
समितिका सभापति यादवले प्राधिकरण विमाजनसम्बन्धी बिधेयक कहाँ कुन अवस्था पुगेर अड्किएको छ, २४ घण्टाभित्र समितिलाई जानकारी गराउन पर्यटन सचिवलाई निर्देशन दिए।

सभापति यादवले इयूको कालोसूची जस्तो संवेदनशील विषय त्यत्तिकै टालटुल गरेर बन्न नसकिने भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्ने बताए। 

समितिले जुनसुकै समयमा बोलाउन सक्ने भन्दै उनले प्राधिकरण र निगमका उच्च अधिकारीलाई तयारी अवस्थामा रहन आग्रह गरे।

रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .