ad ad

राजनीति


प्रधानमन्त्रीको गुनासो : मिडियाले कुरै नबुझिकन लेखिदिन्छन्

प्रधानमन्त्रीको गुनासो : मिडियाले कुरै नबुझिकन लेखिदिन्छन्

नेपालखबर
पुस ५, २०८० बिहिबार २०:३५, विराटनगर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको जानकारी दिएका छन्। विराटनगर विमानस्थलमा आज साँझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो। अब टार्गेट दिइन्छ। त्यो अनुसार भएन भने सोच्नुपर्छ।’

प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको बताए।

उनले भने, ‘मिडियामा पनि पुरै नबुझि लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन। तर, सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो। भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो? भूमाफियाको विरुद्ध कदम चालिएको छ। अन्तर्राष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ।’

प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको र विधि, विधान र कानूनभन्दा माथि कोही पनि नरहेको बताए।

‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन। विधि, विधार र कानूनभन्दा बाहिर केही गर्न दिइँदैन। यसको बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ,’ प्रधानमन्त्रीले भने।

उनले आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा सहि नभएको पनि बताए।

‘कम्युनिष्ट पार्टीको नाम कहिल्यै पनि परविर्तन हुँदैन। खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुनसक्छ। भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ। हामी छलफलमा छौं,’ उनले भने, ‘संविधानले पनि समाजवाद भनेको छ भने समाजवादको भाव आउने नाम दिनु अहिलेको वस्तुसंगत हुन्छ भनेका छौं।’

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए।

‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ। नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर कुराकानी गरेको छु। यसलाई एक्स्ट्रिममा जान दिनुहुँदैन भन्ने छ। अतिवाद तिर जान दिनुहुँदैन,’उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .