ad ad

राजनीति


१४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सुरु

१४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सुरु

नेपालखबर
पुस ७, २०८० शनिबार २१:५, धनकुटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत द्रुतगतिको इन्टरनेट सेवा सुरु गरेकी छिन्।

सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को आज उद्घाटन गरेकी हुन्। नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उनले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताइन्।

सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ।’

यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पुर्‍याएको मन्त्री शर्माले जानकारी दिइन्। उनले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताइन्।

मध्यपहाडी राजमार्गअन्तर्गतको यो योजना सञ्चारसम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मूलप्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्‍याइएको जानकारी दिइन्।

देशको कुल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शतप्रतिशत विस्तार गर्न आवश्यक रहेको उनको धारणा छ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ग्रामीण दूरसञ्चार कोषको लगानीमा मध्यपहाडी राजमार्गमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कको सञ्चालनमा ल्याइएको बताए।

ग्रामीण दूरसञ्चार कोषअन्तर्गत रु चार अर्ब ८७ करोड लगानीमा कोशी, मधेस र बागमती प्रदेशमा सञ्चालित आयोजनामध्ये कोशी प्रदेशको आयोजना पूरा भएको हो  तीन प्रदेशमध्ये कोशी प्रदेश सेवा प्रवाहमा पहिलो भएकामा प्रदेशवासीलाई मन्त्री शर्माले बधाई ज्ञापन गरे।

तीन प्रदेशमा विस्तार हुने एक हजार दुई सय २५ किमी लामो फाइबरको महामार्गमध्ये कोशी प्रदेशमा आठ सय ६३ किलोमिटर लामो महामार्गबाट सेवा प्रवाह हुने ग्रामीण दूरसञ्चार कोष परियोजनाका निर्देशक लक्ष्मण महर्जनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .