नेकपा एमालेले पछिल्लो समय युवाहरूको विदेश पलायन र बसाईंसराईबारे विज्ञ टोलीसँग छलफल गर्ने भएको छ।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बारे औपचारिक जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
‘अहिलेका विविध समस्याबारे काठमाडौँमा विज्ञसहित बसेर छलफल गर्नेछौँ। के कसरी अहिलेका समस्या समाधान गर्न कसरी सकिन्छ भनेर,’ ओलीले भने।
बसाइँसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्न लागिएको उनले बताए।
‘बसाइसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्दैछौँ,’ ओलीले भने।
त्यस्तै, उक्त विज्ञ टोलीसँग पार्टीले कृषिमा आधारित उद्योगको बारेमा पनि छलफल गर्ने पनि उनले बताए।
‘कृषिमा आधारित उद्योगको बारेमा पनि छलफल गर्छौँ। राज्यस्तर र राजनीतिक दल सबैलाई विकासका लागि कसरी काम गर्ने कस्तो ढाँचाको कृषि प्रणाली गर्ने? भन्नेबारे पनि छलफल हुन्छ,’ ओलीले भने।
एमालेको सो यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आइतबार पत्रकार सम्मेलन आयोजना गरेको हो।
मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डोत्तलन गरी सुरु भएको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो।
अभियान अन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो।
१८ दिनसम्म चलेको अभियानको अन्तिम आमसभा भने मंसिर ३० गते पाँचथरको फिदिममा भएको थियो।
Shares
प्रतिक्रिया