ad ad

राजनीति


राष्ट्रिय सभाका लागि कांग्रेस केन्द्रले तीन जना माग्दा कोशीले पठायो ६३ जना

राष्ट्रिय सभाका लागि कांग्रेस केन्द्रले तीन जना माग्दा कोशीले पठायो ६३ जना

नेपालखबर
पुस १०, २०८० मंगलबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ६३ जना आकांक्षीको नाम पठाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको उम्मेदवारीका लागि ३ जनाको नाम मागेकोमा कोशीले ६३ जनाको सूची पठाएको हो। 

कोशी प्रदेश कार्यालय विराटनगरमा बसेको कांग्रेसको बैठकले ६३ जना आकांक्षीको नाम सिफारिस गरेको महामन्त्री भूपेन्द्र राईले नेपालखबरलाई बताए। 

उक्त निर्वाचनका लागि कांग्रेसले जिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस  गरेको राईले बताए।

उनका अनुसार आकांक्षीहरूमध्ये २५ जना महिला र ३८ जना पुरुषको नाम केन्द्रमा पठाइएको छ। महिलाको कोटामा सुजाता कोइराला, डा. डिला संग्रौला, रुकमणि कोइराला, सविता राई, गोमा केसी, बिना पौडेलसहित छन्। 

त्यस्तै पुरुषतर्फ पहिलो नम्बरमा कृष्णप्रसाद सिटौलाको नाम छ। त्यसैगरी महेश आचार्य, डा. मीनेन्द्र रिजाल, उमेशजंग रायमाझी, आङगेलु शेर्पा, गुरुराज घिमिरे लगायतका नेताहरूको नाम पनि सिफारिस गरिएको छ।

यसअघि नै कांग्रेस केन्द्रीय समितिले पुस १० गतेभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएको थियो। 

जिल्लाबाट आएकामा प्रदेश कार्यसमितिले झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाएको हो। 

तर यी दुवै नेता २०७९ मंसिरको निर्वाचनमा पराजित भएका हुन्। सिटौला झापा ३ मा राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्। 

राष्ट्रियसभाका लागि सभापति शेरबहादुर देउवाले सिटौलालाई अघि सार्ने तयारी छ। चौधौँ महाधिवेशनमा आफूलाई साथ दिएका सिटौलालाई राष्ट्रिय सभामा पठाउने योजना देउवाको छ। 

कोशीबाट डा. शेखर कोइराला पक्षले डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउनुपर्ने अडान राखेको छ। कोइराला समूहले कांग्रेसले पाउने राष्ट्रियसभाका ९ सिटमा कम्तीमा ४ आफ्नो समूहका हुनुपर्ने बताउँदै आएको छ। 

सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .