ad ad

राजनीति


प्रधानमन्त्रीको निष्कर्ष : एक वर्षमा सोचेजस्तो गर्न सकिएन, आशा जगाउन नसके छाड्छु

निराशाबाट सुरु गरे, आश्वासन बाँडेर बिदा भए
प्रधानमन्त्रीको निष्कर्ष : एक वर्षमा सोचेजस्तो गर्न सकिएन, आशा जगाउन नसके छाड्छु

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस १०, २०८० मंगलबार १९:१५, काठमाडौँ

आफ्नो तेस्रो कार्यकालको एक वर्षको उपलब्धि सुनाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कामै नगरेको भनेर निराशा फैल्याइएको भन्दै चित्त दुखाए। 

आफ्नो लिखित सम्बोधनमा समेत गठबन्धन सरकारका कामलाई ओझेल पार्ने कोसिससहित निराशावादी कुरा गरिएको भनेर उनले चित्त दुखाएका हुन्। 

एक वर्षअघि आजकै दिन प्रधानमन्त्री नियुक्त भएपछि उनी आफैँले देशलाई समृद्धिको दिशामा अघि बढाउने घोषणा गरेका थिए। तर उनको घोषणाअनुसार परिणाम नआइरहँदा नागरिकस्तरबाट सरकारको आलोचना भइरहेको छ।

एक वर्षअघि रिपोर्ट कार्डसहित उपस्थित हुने बताएका उनले देशलाई समृद्ध बनाउने आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको निष्कर्ष सुनाए।

‘सरकारलाई म असफल भयो त भन्दिनँ, तर मेरो हुटहुटीअनुसार काम हुन नसकेको सत्य हो’, उनले आफ्नोबारेका मूल्यांकन सुनाए, ‘तर, अबको एक वर्ष ब्रेक थ्रु हुने गरी सरकारले काम गर्ने छ। अब सिंहदरबारमै बसेर गति बढाउँछु, छुट्नेहरु बिदा भएर जाँदा हुन्छ।’

एक वर्षअघिको वाचा सम्झिँदै दाहालले आफू प्रतिरक्षात्मक नहुने उल्लेख गरेका छन्। सरकारको पहलकै कारण अनेक उपलब्धि सम्भव भएको सुनाएका उनले सुरुवातमा जस्तै अन्त्यमा पनि जनतामा उत्साह जगाउन नसकेकोमा दिक्दारी प्रकट गरे।

‘सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो, म सार्वभौम संसद र जनताबीच केवल भाषण र आश्वासन होइन। रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु,’ उनले भने, ‘नागरिकसामु प्रत्यक्ष रुपमै वार्षिक रिपोर्ट पेस गर्दै गर्दा म प्रतिरक्षात्मक छैन, किनकी समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्।’

तर, उनले यति भनिरहँदा आफूले बनाएको योजनाअनुसार उपलब्धि भने सरकारले दिन नसकेको कुरा पनि भन्न भुलेनन्। 
‘परिणाम नआएकै हो’

विद्युत् निर्यातदेखि विकास आयोजनाको प्रभावकारी अनुगमनसम्मलाई आफ्नो उपलब्धिमा समेटेका प्रचण्डले सरकारले एक वर्षमा गरेका कामले सोचे जस्तो परिणाम आउन नसकेको स्वीकारेका छन्। 

उनले देश कति बन्यो भन्दा पनि कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा आफू रहेको उल्लेख गरेका छन्। 

‘...स्वीकार गर्दछु कि सरकार असफल त भएन,, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन,’ उनले भनेका छन्, ‘यही चिन्ता र आत्मसमीक्षाका साथ घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ, नयाँ गियरमा सरकार अघि बढ्ने छ।’

‘आफैँलाई माफ गर्ने मनस्थितिमा छैन’
मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहेका प्रधानमन्त्रीले आफैँलाई पनि माफी गर्न सक्ने मनस्थितिमा नरहेको बताएका छन्।

कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफी दिननसक्ने उनको भनाइ छ। उपलब्धि लिखित रुपमा पेश गर्ने क्रममा उनले अब दौडिन नसक्नेहरुले बिदा भएर गए हुने बताए। काम गर्न नसकेका आफैँ पनि सरकारमा बस्नुको औचित्य नरहेको आत्मस्वीकारोक्ति प्रचण्डको थियो। 

‘हामीलाई असफल हुने छुट छैन, कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन’, उनले भने, ‘यदि म आफैँले पनि काम गर्न नसके बसिरहनुको औचित्य छैन। अब कामको गति नबढाउनेहरु बिदा हुन्छन्, छुट्छन्।’

कार्यक्षमता प्रमाणित गर्न नसकेको अवस्थामा ठाउँ ओगटिरहनु नहुने उनको भनाइ छ। 

‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘यो मैले अरुलाई दिएको उपदेशमात्रै होइन, आफैँसँग गरेको वाचा पनि यही हो।’

दाहालले देशमा सकारात्मक आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन आवश्यक नभएको बताए।

‘संरचना परिवर्तन गर्दैछु’
प्रधानमन्त्री प्रचण्डले अपरिहार्यबाहेकका कुनै पनि कार्यक्रममा नजाने, विकास र सुशासनका समस्या समाधान गर्न लाग्ने बताएका छन्।

आफूले सिंहदरबारमै बसेर देश विकासको नेतृत्व सम्हाल्ने पनि दाहालले बताए।

उनले सरकारको कार्यशैली बदल्ने प्रस्थानबिन्दु यही साताबाट अघि बढाउने प्रतिबद्धता सम्बोधनमा गरे। 

‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु,’ उनले भनेका छन्, ‘सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .