भोलि (पुस २३ गते) मनोनयन गर्ने राष्ट्रिय सभाका १० जना उम्मेदवारको टुंगो लगाउन बोलाइएको नेपाली कांग्रेस संसदीय बोर्डको बैठक अझै सुरु हुन सकेको छैन।
बैठकका लागि नेताहरु साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगे पनि त्यसअघि भएको अनौपचारिक छलफलमा कुरा नमिलेपछि बैठक सुरु हुन नसकेको कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए।
‘हाम्रो बीचमा सहमति भएको छैन। त्यही भएर बोर्ड बैठक बस्न सकेको छैन’ केसीले नेपालखबरसँग भने, ‘हामीले हाम्रो कुरा महामन्त्री, उपसभापति मार्फत राखिसकेका छौं। पदाधिकारीको बैठकमा उहाँहरुले कुरा राखिसक्नु भएको छ। हाम्रो अडान कायम छ।’
अहिले कांग्रेसको संस्थापन समूह र संस्थापन इत्तर समूह पार्टी कार्यालयमै छुट्टाछुट्टै बसिरहेका छन्। आफ्नो समूहले कुरा राखिसकेपछि संस्थापन पक्षले केही जवाफ दिन नसकेको र ल्याङफ्याङ अवस्थामा अगाडि बढ्न खोजेको आरोप पनि केसीले लगाए।
सहमति भए आजै बोर्ड बैठक बसेर टुंगो लगाउने तयारी छ।
सानेपा जानुअघि गगन–शेखर समूह छुट्टै बसेर आफ्नो समूहको अडानका विषयमा छलफल गरेका थिए। पार्टी कार्यालय पुगेका नेता शेखर कोइराला भने फर्किइसकेका छन्।
Shares
प्रतिक्रिया