ad ad

राजनीति


राष्ट्रिय सभामा प्रतिस्पर्धा गर्दै ४७ उम्मेदवार, कुन दलबाट कति?

राष्ट्रिय सभामा प्रतिस्पर्धा गर्दै ४७ उम्मेदवार, कुन दलबाट कति?

नेपालखबर
पुस २३, २०८० सोमबार १३:३६, काठमाडौँ

राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार देशका सातै प्रदेशमा मनोनयन भइरहेको छ। सोमबार दिउँसो ३ बजेसम्म सबै उम्मेदवारी परिसक्ने छ।

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभाका सदस्यको पदावधि सकिने भएपछि एक महिना अगावै निर्वाचन हुन लागेको हो। बिदा भएर जानेमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित छन्। यसमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का का ८ जना छन्।

एमालेकासमेत आठ सिटको सत्तारूढ गठबन्धनले भागबन्डा गरेका छन्। जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ।

उता एक्लै मैदानमा उत्रिएको एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा छ। यदि गठबन्धनमा तलमाथि नभए सबै १९ सिटमै सत्तारुढ दलका उम्मेदवारहरू विजयी हुने निश्चित छ।

कांग्रेसबाट
नेपाली कांग्रेसमा उम्मेदवारी चयनका लागि आइतबारदेखि सोमबार सबेरै बिहानसम्म रस्साकस्सी चलेको थियो।

डा. शेखर कोइराला नेतृत्वको समूहले १० मध्ये ४ सिट पाउनुपर्ने अडान नछाडेपछि कुरा मिल्न सकेको थिएन। तर सभापति शेरबहादुर देउवाले शेखर समूहलाई ३ र नेता प्रकाशमान सिंहलाई १ सिट दिएर संस्थापनमा ६ सिट राख्न सफल भएका छन्। 

कांग्रेसले कोशी प्रदेशको अन्यबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र मधेसको अन्य कोटाबाट आनन्द प्रसाद ढुंगानालाई उठाएको छ।

यता बागमतीबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेतलाई उठाएको छ पुडासैनीले नेता प्रकाशमान सिंहकोतर्फबाट टिकट पाएकी छन्। 

कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपाङ्गतातर्फ नारायण दत्त भटट र अन्यमा बलदेव बोहराले टिकट पाएका छन्। उनीहरू सबै संस्थापनका हुन्। 

उता गण्डकीको अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठले टिकट पाएका छन्। उनीहरू दुवै शेखर कोइराला समूहका हुन्। अर्कातिर लुम्बिनीमा विष्णुदेवी सापकोटा महिलातर्फबाट उठ्दैछिन्। उनी पनि शेखर समूहकी हुन्। 

एमालेबाट 
प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभाको निर्वाचनमा एक्लै मैदानमा छ। सत्ता गठबन्धनसँग मिलेर जाने प्रयास भए पनि सफल हुन नसकेपछि एमाले एक्लै मैदानमा छ। 

एमालेको आइतबार बसेको सचिवालय बैठकले १९ जना उम्मेदवारको नाम तय गरेको थियो।

एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उठाएको छ। 

मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार भएका छन्।

उता बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उठ्दैछन्। 

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन  (मुस्ताङ) उम्मेदवार भएका छन्। 

लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ।

कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।

सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको छ।

माओवादी केन्द्र
माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि जनयुद्धमा योगदान दिएका र तिनका परिवारका सदस्यलाई रोजेको छ। यद्यपि मधेसलाई नसमेटेकोमा माओवादीभित्र असन्तुष्टि छ। माओवादीले सत्ता गठबन्धनबाट भागबन्डामा ६ सिट पाएको हो।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उठाएको छ। 

राप्रपा
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार उठाएको छ। 

राप्रपाबाट कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार भएका छन्। 

राप्रपाले लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ। 

मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार उठाउने तयारी गरेको थियो। तर स्थानीय तह र प्रदेशमा पार्टीका जनप्रतिनिधि एक-एकजना मात्रै हुँदा प्रस्ताव र समर्थक राख्न राप्रपालाई समस्या भएको हो। 

राप्रपाले प्रस्तावक र समर्थक अभावमा मधेश, गण्डकी र सुदूरपश्चिमका उम्मेदवारी नदिने भएको छ। यस्तोमा अब उसका ९ जना मात्रै उम्मेदवार कायम भएका छन्।

नेकपा एकीकृत
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुईजना उम्मेदवार तय गरेको छ। 

समाजवादीले बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ। 

आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो।

जसपा 
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ। 

केन्द्रीय कार्यालय आइतबार भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाएको हो

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ।

जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी उनी २०७९ मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन्। उनलाई स्वतन्त्र उम्मेदवार केशव रायले हराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .