नेपाली कांग्रेसका शीर्ष नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अब राष्ट्रिय सभा अध्यक्ष बन्ने बताएका छन्।
उनलाई राष्ट्रिय सभाको अध्यक्षमा लैजानकै लागि कोशी प्रदेशको अन्यतर्फबाट उम्मेदवार बनाइएको दाबी पनि ती नेताहरूले सोमबार बिराटनगरमा गरेका छन्।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले सोमबार बिहान १० बजे नै विराटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सिटौलाले जित्ने निश्चित छ। झापा ३ बाट प्रतिनिधिसभामा लगातार दुई पटक हारेका उनलाई शान्ति प्रक्रियामा खेलको योगदानका लागि भन्दै गठबन्धनले माथिल्लो सदनमा लाने भएको हो।
उम्मेदवारी दर्तापछि सोमबार दिउँसो बिराटनगरमा सत्ता गठबन्धनका दलहरूको छलफलका क्रममा कांग्रेसका शीर्ष दुई नेताहरूले अब सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने बताए।
कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरू हारेको मान्छे उठाउने पक्षमा नभए पनि सिटौलाले शान्ति प्रक्रियाका लागि दिएको योगदानको कदर गर्नुपरेको बताए।
‘उहाँ (कृष्ण सिटौला) लाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उठाएका हौँ। हामी हारेको मान्छे नउठाउने पक्षमा थियौँ,’ कोइरालाले छलफलमा भने, ‘तर, उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिकाको सम्मान तथा गणतन्त्रका लागि उहाँको योगदानको इतिहास हेरेर हामी सहमति दिएका हौँ।’
सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको दाबी पनि उनले गरे।
उक्त छलफलका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभा चलाउने बताए।
‘शान्ति प्रक्रियाको अधुरो काम पूरा गर्न राष्ट्रिय सभाको नेतृत्व लिएर उहाँले थप योगदान दिनु हुनेछ,’ शर्माले छलफलका क्रममा भने।
यसअघि राष्ट्रिय सभाको उम्मेदवारलाई लिएर कांग्रेसको संस्थापन र इत्तर समूहबीच तीव्र विवाद थियो। तर सिटौलालाई राष्ट्रिय सभामा लैजाने कुरामा दुवै पक्ष एकमत थिए।
Shares
प्रतिक्रिया