ad ad

राजनीति


राजावादी देखिन राजासँगको तस्बिर पोस्ट गर्नु जरुरी छैन : कमल थापा

राजा फर्काउन बृहत जनआन्दोलनको उद्घोष
राजावादी देखिन राजासँगको तस्बिर पोस्ट गर्नु जरुरी छैन : कमल थापा

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २४, २०८० मंगलबार १२:३०, पोखरा

 राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्रको लागि ‘जनआन्दोलन’ को उद्घोष गरेका छन् ।

उनले आन्दोलनको तयारी थालिए पनि कहिलेदेखि भन्नेबारे भने केही बताएनन् ।

थापाले आन्दोलनबाट व्यवस्था परिवर्तनको प्रयत्न वर्तमान संविधानसम्मत नै भएको जिकिर पनि गरे ।

‘संविधानले आन्दोलनहरुलाई रेकोक्नाइज्ण्ड (मान्यता प्रदान) गरेको छ,’पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘प्रस्तावनामा नै जनयुद्ध र अन्य आन्दोलनको कुरा छ। जनताको अभिमतबाट सवैकुरा परिवर्तन गर्ने,आफ्नो मत स्थापित गर्ने सुनिश्चितता गरेको छ। आन्दोलनबाट संघीयता, गणतन्त्र र  धर्मनिरपेक्षता परिवर्तन गर्न सकिन्छ।’

उनले अहिले जनआन्दोलनको लागि उपयुक्त माहोल भएको जिकिर पनि गरे। 

थापाले राजसंस्थासहितको व्यवस्था परिवर्तनको निम्ति बृहत मोर्चाको आह्वान गरेको बताउँदै मोर्चाको नेतृत्वप नि सामूहिक बनाउने प्रयत्न गरिने बताए।

मोर्चामा को–को रहने भन्नेबारे उनी खासै खुलेनन् तर एक्लैले गरेको आन्दोलनलाई जनआन्दोलन भन्न नसकिने र विचार मिल्नेहरु सबै मोर्चामा अटाउने तर्क गरे। मोर्चाको नेतृत्वमा राप्रपा नेपालको दावी नभएको पनि उनको भनाइ थियो।

फेरि राजतन्त्रको एजेन्डा बोकेको पार्टी अध्यक्षको राजासँगको सम्बन्धबारे सोधिएको नेपालखबरको प्रश्नमा उनले भने,‘कमल थापालाई राजासँगको तस्बिर सँगै राखेर,पोस्ट गरेर प्रचार गर्न जरुरी पर्छ र? मेरो आफ्नै पृष्टभूमि र प्रतिष्ठा छ।’

पछिल्लो समय आफूले राजालाई नभेटेको बताउने थापाको भनाइ हालै राजासँगको भेटको सामूहिक तस्बिर सार्वजनिक गर्ने राप्रपाका नेताप्रति लक्षित थियो। 

उनले अहिले केही दलका नेताहरुले सिन्डिके लागू गर्दै राज्यसत्तामा कब्जा जमाएका र अकूत सम्पत्ति आर्जन गरी त्यही पैसा खर्च गरेर चुनाव जित्ने वातावरण बनाएको आरोप पनि लगाए। 

कथंकदाचित नयाँ व्यक्तिले चुनाव जित्ने अवस्था आए यहाँ रहेका पुरना सवै दल मिल्ने पनि उनको जिकिर थियो।

‘हामीले जित्ने अवस्था आयो भने यहाँ रहेका ५ वटै दल मिल्छन्,’ राष्ट्रिय सभा निर्वाचनमा एमालेसिहितको मोर्चा बन्न लागेको प्रसंग उल्लेख गर्दै उनले भने,‘ अहिले हुन लागेको राष्ट्रिय सभा चुनावमा मात्र केही कारणले एमालेसँग सहमति नभएको त हो नि।’

उनले सामान्य अवस्थामा  यो प्रणालीले योग्यता भएका, क्षमतावान र विकासप्रेमी नेतालाई चुनाव जित्न नदिने भएकाले नै राप्रपा नेपाल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,मन्त्री हुन सांसद नभए पनि हुने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाइने व्यवस्थाको पक्षमा गएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .