ad ad

राजनीति


पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : परराष्ट्रमन्त्री

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : परराष्ट्रमन्त्री

नेपालखबर
पुस २४, २०८० मंगलबार १५:५५, कञ्चनपुर

परराष्ट्रमन्त्री एनपी साउदले महाकाली पञ्चेश्वर परियोजनाको काम छिट्टै अघि बढाउने बताएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एक महिनाभित्र महाकाली पञ्चेश्वर परियोजनाको काम अघि बढाउने समझदारी भएको उनले बताए।

‘भारतका विदेशमन्त्रीसँगको संयुक्त बैठकमा महाकाली परियोजना र पञ्चेश्वर परियोजनालाई एक महिनाभित्र हामीले सहमति गरेर यो प्रक्रियालाई सुरु गर्ने माइन्युटमा दस्तखत गरेका छौँँ,’ परराष्ट्रमन्त्री साउदले भने।

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्।

उनका अनुसार यसका बारेमा प्राविधिक टोली वार्तामा सक्रिय रहेको छ।

पञ्चेश्वर परियोजनाको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दिल्लीमा छलफल भएको थियो।

महाकाली परियोजनाबाट ६ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादनका साथै यस क्षेत्रमा रोजगारी पनि सिर्जना गर्ने उनको भनाइ छ।

१० वर्षभित्र १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने तयारी भइरहेको उनले बताए। नेपालबाट भारत विद्युत निर्यात गर्न सके देशको अर्थतन्त्र पनि सुधारिने उनको दाबी छ।

‘महाकाली परियोजना मेघा आयोजना हो। यो आयोजना बनिसकेपछि रोजगारी सिर्जना हुनेछ। भारतलाई १० वर्षभित्र १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिरहेका छौँ,’ उनले भने, ‘त्यसका लागि हाम्रो हिस्साको ३ हजार मेगावाट विद्युत भारतलाई बेच्न पायौँ भने अर्थतन्त्रमा सुधार आउनेछ। त्यो बाटोमा हामी लागिरहेका छौँ।’

परराष्ट्रमन्त्री साउदले करिब दुई सय जना नेपाली रुसी सेनामा रहेको अनुमान गरिएको र तीमध्ये ११५ जनाको परिवारबाट निवेदन प्राप्त भएको जानकारी दिए। उनीहरुलाई फर्काउन पहल भइरहेको उनले बताए।

यस्तै, उनले इजरायलमा हमासको बन्धक रहेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि कतारबाट आश्वासन प्राप्त भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .