ad ad

राजनीति


शंकर पोखरेलको टिप्पणी : प्रचण्ड छेपारोभन्दा पनि छिटो रङ बदल्ने व्यक्ति

गठबन्धन जनमतबाट अस्वीकृत, कर्ममा पनि असफल रहेको जिकिर
शंकर पोखरेलको टिप्पणी : प्रचण्ड छेपारोभन्दा पनि छिटो रङ बदल्ने व्यक्ति

नेपालखबर
पुस २५, २०८० बुधबार १९:३९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताएका छन्। 

नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई बाहिर राख्ने काम भएको पोखरेलले बताए। 

लोकतन्त्रको यो कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्न आवश्यक रहेको उनले प्रष्ट पारे। बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने र देशलाई विकासको मार्गमा अघि बढाउन सकिने पोखरेलले प्रष्ट पारे। 

अहिलेको जनादेशले मूलकलाई स्थिरताको बाटोमा लैजान नसक्ने पोखरेलले बताए। वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको पोखरेल दाबी गरे।

‘यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार हनु भनेको मुलुक बर्बादीतर्फ जानु हो’, पोखरेलले भने। 

गठबन्धन सरकारले अराजकता र अस्थिरता अन्त्य गर्न नसक्ने उनले दाबी गरे। नागरिकमा बढेका निराशा हटाउनको गठबन्धनसँग कुनै कार्यक्रम र योजना नरहेको उनले प्रष्ट पारे। 

गठबन्धन सरकार निर्माणपछि सांस्कृतिक विगठनको क्रम पनि तीव्र रूपले बढेको उनले टिप्पणी गरे। त्यस्तै अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थामा रहेको उनले बताए। 

नेपाली राजनीतिका पुष्पकमल दाहाल छेपारोभन्दा पनि छिटो रङ बदल्ने व्यक्ति भएको पोखरेलले बताए। छेपारोले रङ बदल्न मौसम परिवर्तन हुनुपर्ने भए पनि प्रचण्डलाई रङ बदल्न मौसम पनि परिवर्तन हुनुपर्ने उनको टिप्पणी छ। 

फरक प्रसंगमा पोखरेलले नेकपा एमालेले मिसन ग्रासरुटबाट वडासम्मको पार्टीको अवस्था विश्लेषण गर्ने काम गरेको बताए। त्यसैको आधारमा पार्टी व्यवस्थित योजना बनाएर अघि बढेको उनले प्रष्ट पारे। 

एमालेले सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागी संकल्प यात्राले मुलुकको राजनीतिलाई गलत बाटोमा लैजाने कार्यलाई ब्रेक लगाइदिएको उनले दाबी गरे। 

मुलुकलाई जातीय अतिवाद, धार्मिक अतिवाद तथा पश्चगमनतर्फ लैजाने प्रवृत्ति माथि सो यात्राले लगाम लगाइदिएको उनले बताए। 

मध्यपहाडबाट मानिसहरूको बसाइसराइ नरोकिएको प्रति उनले चिन्ता व्यक्त गरे। पूर्वाधार पहाड चढ्ने तर मानिस ओरालो झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर यात्रा आयोजना गरिएको उनले प्रष्ट पारे।

यात्रा एमालेको मात्र नभएर देशकै भएको उनले बताए। मध्यपहाडलाई कसरी मानिस बस्न  लायक बनाउन सकिन्छ भन्ने कुरामा सबै क्षेत्रबाट सल्लाह सुझाव पार्टीलाई प्राप्त भएको उनले सुनाए।

यात्राको क्रममा मध्यपहाडको सांस्कृतिक विविधता पनि प्रकट भएको उनले बताए। अत्यन्त छोटो समयमा नेपालको विविधता यात्राको क्रममा प्रकट भएको उनले बताए। सांस्कृतिक विशेषतालाई एउटै मालमा उन्ने काममा यात्रा सफल भएको उनले दाबी गरे।

सरकारका गलत क्रियाकलापविरुद्ध जुटेर प्रतिवाद गर्नुपर्ने अवस्था आएको उनले बताए। प्रतिपक्षमा रहेको बेलामा पनि सत्ता पक्ष, कथित नयाँ शक्ति र राजवादी भनिएकाहरूको प्रहारको निशाना पनि एमाले भएको उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .