ad ad

राजनीति


टीकापुरमा नागरिक उन्मुक्तिको महाधिवेशन, रेशम–रञ्जिता अध्यक्षका दाबेदार

टीकापुरमा नागरिक उन्मुक्तिको महाधिवेशन, रेशम–रञ्जिता अध्यक्षका दाबेदार

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १८:७, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कैलालीको टीकापुरमा सुरु भएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरे। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि महाधिवेशन उद्घाटनमा निम्ता थियो। तर, उनी नआएपछि नेपाल र श्रेष्ठले महाधिवेशन उद्घाटन गरेका हुन्। 

प्रधानमन्त्री दाहाल नआएपछि उनले माओवादी अर्का नेतालाई महाधिवेशनमा पठाएको नागरिक उन्मुक्तिले जनाएको छ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका छन्। नागरिक उन्मुक्ति पार्टीको ५२ जिल्लामा कार्यसमिति गठन भएको छ। 

देशभरबाट करिब ८ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने उन्मुक्तिको दाबी छ। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी दम्पतीले आकांक्षा देखाएको नेताहरू बताउँछन्। हाल रेशमकी श्रीमती रञ्जिता उन्मुक्तिकी अध्यक्ष छन्। चौधरी संरक्षक छन्।

टीकापुर नरसंहारमा दोषी ठहर भएका चौधरी कैदमा रहँदा पार्टी बनेको थियो। रेशम संरक्षक बनेका थिए। श्रेष्ठको नेतृत्वमा पार्टी बनेर चुनाव पनि लडेको छ।

गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएपछि चौधरी खुला राजनीतिमा छन्। 

पार्टी संगठन विस्तारका लागि देश दौडाहा गरिरहेका रेशम निर्वाचन आयोग र कानुनविदसँग सल्लाह गरेर पार्टीको नेतृत्व लिने गरी अघि बढेको नेताहरूको भनाइ छ। 

रेशमको कैद मिनाहाविरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ। ३९ पदाधिकारीसहित २४१ जना केन्द्रीय कमिटी गठन गर्ने उन्मुक्तिको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .