ad ad

राजनीति


गठबन्धनका उम्मेदवारलाई जिताउन बागमतीमा ‘समन्वय समिति’ गठन

गठबन्धनका उम्मेदवारलाई जिताउन बागमतीमा ‘समन्वय समिति’ गठन

नेपालखबर
पुस २७, २०८० शुक्रबार १६:२८, हेटाैँडा

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चार उम्मेदवारहरूलाई जिताउन ‘बागमती प्रदेश निर्वाचन समन्वय समिति’ गठन भएको छ।

बिहीबार काठमाडौंमा भएको सत्तारुढ चार दलको बैठकले बागमती प्रदेशमा एकीकृत रुपमा चुनावी गतिविधि समन्वय गर्न समन्वय समिति बनाएको  नेकपा माओवादी केन्द्र बागमतीका अध्यक्ष सरल सहयात्री पौडेलले बताए।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका बामगती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश अध्यक्ष सावित्रा भुसाल रहेको ‘बागमती प्रदेश निर्वाचन समन्वय समिति २०८०’ गठन भएको हो।

छलफलमा तीनवटै दलका प्रदेश अध्यक्ष तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी थिए।

यस्तै, बागमती प्रदेश भित्रका प्रदेशसभा सदस्यहरुसँग चुनावी समन्वय गर्नका लागि माओवादी संसदीय दलका नेता तथा बामगती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता कृष्ण खनाल रहेको समिति गठन गरिएको छ।

यसैगरी प्रदेश भित्रका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट विजयी प्रमुख र उपप्रमुखहरुसँगको समन्वय नगरपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष उपेन्द्र कार्की र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरुसँगको समन्वय गाउँपालिका महासंघ प्रदेशका अध्यक्ष कर्णबहादुर थापा मगरले गर्ने निर्णय गरिएको छ।

नेता पाैडेलका अनुसार राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको निर्देशानुसार बागमती प्रदेश भित्रका १३ वटै जिल्लामा तीनवटै पार्टीका अध्यक्ष र सभापतिहरुलाई अबिलम्ब जिल्ला निर्वाचन समन्वय समिति गठन गरी सोको जानकारी प्रदेशमा पठाउन आग्रह गर्ने निर्णय भएको छ।

आगामी माघ ६ गते काठमाडौंमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरू र मतदाताहरूबीच भेटघाटको कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको पनि पौडेलले बताए।

माघ ११ हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा चार सिटको लागि निर्वाचन हुँदैछ। जसका लागि सत्ता गठबन्धन दलबाट कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिएका छन्।

यस बाहेक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ११ जनाले महिला, अपांगता÷अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आउँदो फाल्गुन २० गते हाल कायम रहेका राष्ट्रिय सभा सदस्यहरूमध्ये बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .