ad ad

राजनीति


धरानको कार्यपालिका बैठकमै प्रमुख र उपप्रमुखबीच चर्काचर्की, वडाअध्यक्ष र कर्मचारी रमिते

धरानको कार्यपालिका बैठकमै प्रमुख र उपप्रमुखबीच चर्काचर्की, वडाअध्यक्ष र कर्मचारी रमिते

नेपालखबर
पुस २९, २०८० आइतबार १७:२१, काठमाडौँ

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघाबीच नयाँ चरणको द्वन्द्व सुरु भएको छ।

१८ महिनायता प्रमुख साम्पाङलाई साथ दिँदै आएका उपप्रमुख बेघा आइतबार पहिलो पटक कड्किन पुगे। उनले आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख साम्पाङमाथि खनिए। 

कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको कुरा निकाल्दै आफ्नो भनाइ सुरु गरेका उपप्रमुख बेघाले आफ्नोबारे सार्वजनिक रुपमा गरेको टिप्पणीको पनि निन्दा गरेका छन्। 

उक्त बैठकमा प्रमुख साम्पाङले केही समयअघि फेसबुकमा सेयर गरेको एउटा कन्टेन्टलाई लिएर आपत्ति जनाएका हुन्। 

भिडिओ

 

आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको हो। 

‘तपाईले खेलाँची गरेको हो? किन त्यो कन्टेन्ट सेयर गर्नुभयो?’ उपप्रमुख बेघाले आक्रोशित मुद्रामा भने, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस्।’

उनले आफू पनि जनताको म्यान्डेट पाएर आएको बताए।‘मलाई उपप्रमुख तपाईँले बनाएको हो? कानुनबाहिरको तपाईँको आदेश मान्दिनँ’, उनले भने। 

उपप्रमुख बेघाले आफूबारेको विवादित स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार चुनौती दिए। 

जवाफमा प्रमुख साम्पाङले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए। आफूले भिडिओ सेयर गर्नुको कारण पनि सुनाए। 

प्रमुखले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए। प्रमुख राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए। 

‘माफी माग्नुपर्यो भने मैले माग्ने हो, तपाईंले त्यसरी माग्ने होइन,’ प्रमुख साम्पाङले बैठकमा भने। 

बेघाले १८ महिनादेखि निरन्तर साथ दिए पनि अहिले घाँटी अठ्याएको बताए। आफूमाथि लगाएको आरोप पनि पुष्टि गर्न उनलाई चुनौती दिए। आफूलाई लगाएको आरोपबारे प्रष्ट जवाफ नदिएसम्म बैठकमा बोलिरहने पनि कुरा राखे। 

बेघाले १८ महिनायता आफूले गरेको असहयोगबारे पुष्टि गर्न चुनौती दिँदै त्यो पुष्टि गर्न नसकेपछि अब अवरोध थाल्ने बताए। 

तर उता प्रमुख साम्पाङले बोलिसकेको कुरा नफर्किने बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोबारे उपप्रमुख बेघाले उपमहानगरको लेटरप्याड प्रयोग गरेर असहयोग गरेको बताए। उपप्रमुख बेघाले आफूलाई त्यही कुरामा पनि असहयोग गरेको उनले बताए। 

प्रमुख साम्पाङ र उपप्रमुख बेघाबीच बैठक हलमै चर्काचर्की भएपछि वडाअध्यक्षहरूले बोल्ने समय मागे। वडाअध्यक्षहरूले कार्यपालिका बैठकमै झगडा र विवादले धरानको बेइज्जत भएको गुनासो गरे।

कार्यपालिका बैठकको झगडा र विवादले धरानको बेइज्जत भइरहेको वडाध्यक्षहरूले बताए। उनीहरुले प्रमुख-उपप्रमुखसँगै कार्यपालिकाका सबैजना मिलेर अघि बढ्न र अभिभावकीय भूमिका खेल्न भने। 

केही महिना अघिसम्म प्रमुख र वडाध्यक्षहरूबीच चर्काचर्की हुँदा उपप्रमुख बेघाले मिल्न आग्रह गर्थे। तर आइतबारको कार्यपालिकामा भने वडाध्यक्षहरूले प्रमुख र उपप्रमुखलाई मिलेर अघि बढ्न सुझाए।

कार्यपालिका बैठकमा उपस्थित १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले जनप्रतिनिधिका कारण धरान बद्नाम हुँदै गएको बताए।

‘१८ महिना उपप्रमुखले हाँसेरै सहेँ भन्नुभयो। हामी वडाध्यक्षहरु एकातिर लागेर संघर्ष गर्यौं,’ उनले धरानका जनप्रतिनिधिलाई धेरैले चिन्ने गरेको बताउँदै भने, ‘तर कसरी चिन्छन् भन्ने कुरा मुख्य हो। धरानबाहिर नाटकको सहरका रुपमा चिन्दा रहेछन्।'

प्रमुख र उपप्रमुखबीच बाझो भएपछि आइतबार बिहान ८ बजेको बैठक दिउँसो २ बजे बैठक पुनः बस्ने गरि स्थगित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .