ad ad

राजनीति


जनतामा निराशा बाँडेर विकास र समृद्धि हुँदैन : पुन

जनतामा निराशा बाँडेर विकास र समृद्धि हुँदैन : पुन

नेपालखबर
माघ २, २०८० मंगलबार १९:५, रोल्पा

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन्।

गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए।

नकारात्मकता र निशारा बाँड्नेहरुको समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो। पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरु पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण साकारात्मक कामहरुले कम चर्चा पाएको उल्लेख गरे।

‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरु हुन थालेका छन्’, पुनले भने, ‘संसारमा निशारा बाँड्नेहरुले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरुले समाजका लागि सम्झनलायक योगदान दिनसकेको उदाहरण पनि छैन।’

पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरुकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औंल्याए।

‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा ३ सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन’, कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौं। केहीमा पछि छौं। मुलुकको विकास जरुरी छ । त्यसका लागि दलहरुबीच सहकार्य र एकताको विकल्प छैन।’

पुनले आफ्नो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरु भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागिपरेको बताए। प्रधानमन्त्रीको बितेको एक वर्षे कार्यकाल सुशासन र भ्रष्टाचार नियन्त्रणमा सम्झनलायक भएको दाबी उनले गरे।

पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ठूलाबडाको पहुँचका आधारमा नभई मुलुक र जनताको आवश्यकताका आधारमा तय हुने बताए। प्रधानमन्त्रीले अहिल्यैदेखि त्यस दिशामा काम अघि बढेको भन्दै पहिलोपटक व्यापक जनसहभागितामा विकासका योजना छनौट गर्ने तयारी भइरहेको जानकारी उनले दिए।

फरक प्रसंगमा उनले विशेष गरी माघी पर्व मगर र थारु समुदायको भए पनि सबै जातजाती र समुदायले मान्ने सदभावको पर्व भएको उल्लेख गरे। उनले नेपालको मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .