नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने भएका छन्।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै हुने सानो आकारको मन्त्रिमण्डल विस्तारमा सहभागी गराउन लागेका हुन्।
तामाङ नुवाकोट–१ बाट प्रतिनिधिसभा निर्वाचन जितेर संघीय संसद्मा प्रवेश गरेका थिए।
तामाङ दोस्रो पटक मन्त्री बन्न लागेका हुन्। यसअघि उनी खेलकुद मन्त्री भइसकेका छन्।
स्रोतका अनुसार तामाङलाई मन्त्री बनाइएको र आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्रीले भनिसकेका छन्।
सम्भवतः आजै साँझ नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ।
कांग्रेससँगको गठबन्धन तोडिएसँगै प्रधानमन्त्री प्रचण्डले एमालेसँगको नयाँ समीकरण बनाएका छन्।
नयाँ गठबन्धनमा आजै ४ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गर्ने र बाँकी भागबन्डाका आधारमा विस्तारै गर्ने सहमति भएको छ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गत ल्होछारमा टुँडिखेलमा आयोजित कार्यक्रममा बागमतीबाटै तामाङ समुदायको मन्त्री बनाइने वाचा गरेका थिए।
तामाङ समुदायकै त्यस कार्यक्रममा पुगेर उनले गरेको वाचा यिनै तामाङतर्फ इंगित थियो।
Shares
प्रतिक्रिया