कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्।
गत फागुन २१ गते नेकपा एमालेसँग नेकपा माओवादी केन्द्रले सहकार्य गरेसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछिको अवस्थामा शर्माले विश्वासको मत लिन लागेका हुन्।
शर्माले यही शुक्रबार वा आइतबार एक दिन विश्वासको मत लिने गरि तयारी थालेका छन्।
केन्द्रमा बनेको नयाँ गठबन्धनमा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिनेगरी छलफल अघि बढेका बेला शर्माले विश्वासको मतका लागि छलफल अघि बढाएका छन्।
कर्णालीको नेतृत्व एमालेलाई नदिई आफैंले राख्नुपर्ने मत नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा राखेका थिए। शर्माले भूकम्पपछिको पुननिर्माणसहितका काम अघि बढेको अवस्थामा कर्णालीको नेतृत्व माओवादीले छाड्न नहुने भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोखेका थिए।
यस्तोमा जनमतका हिसाबले पनि कर्णालीमा ठूलो रहेको माओवादीले अहिले नै अरूलाई नेतृत्व हस्तान्तरण गर्नेतर्फ लाग्न नहुने बताउँछन् मुख्यमन्त्री शर्मा।
'पहिले पनि कर्णालीमा पाँचै वर्ष माओवादीलाई सरकार चलाउन दिने सहमति भएको हो। नयाँ गठबन्धन बनेको हकमा अहिले मैले नै निरन्तरता दिनु राम्रो हुन्छ', उनलेे नेपालखबरसँग भने, 'हेरफेर गर्नै परे मैले दुई वर्ष बिताएपछि पालो गर्नु राम्रो हुन्छ। अहिले नै नेतृत्व फेर्नेतिर लाग्नु राम्रो हुन्न।'
शर्माले केन्द्रमा राजनीतिक समीकरण जे भए पनि प्रदेशमा आफू त्यहाँको वस्तुस्थिति अनुसार अघि बढ्ने बताए।
'केन्द्रमा जे जे हुन्छ, प्रदेशमा त्यही गर्नुपर्छ भन्ने हुँदैन, हामी यहाँको राजनीतिक वस्तुस्थितिअनुसार अघि बढ्छौँ', उनले भने, 'विश्वासको मतका लागि हामी यहाँ सबै दलसँग छलफलमा छौँ, सकेसम्म सर्वदलीय सरकार बनाउने कोसिस हुन्छ, त्यसतर्फ कुरा अघि बढेको छ।'
शर्माले फागुन २१ को परिवर्तित राजनीतिक अवस्थापछि बाहिरिएको नेपाली कांग्रेसको पनि विश्वासको मत पाउने गरि छलफल भइरहेको बताए।
'सबै दलसँग म छलफलमा छु, मलाई यहाँका सबै दलले विश्वासको मत दिने वातावरण बन्दैछ', कांग्रेससँग पनि छलफल भइरहेकोतर्फ संकेत गर्दै उनले भने, 'मैले सबै दलको विश्वासको मत पाएर कर्णालीमा सर्वदलीय सरकार बन्छ।'
शर्माले एमालेलाई अहिले नै कर्णाली सरकारको नेतृत्व लिन हतार नगर्न पनि उनलेे आग्रह गरे। 'यही गठबन्धनबाट अहिले म छँदैछु, हेरफेरको आवश्यकता किन पर्यो?', उनलेे भने, 'जिकज्याक गर्नुभन्दा यही सरकारलाई निरन्तरता दिनेतर्फ सोच्नु आवश्यक छ।'
Shares
प्रतिक्रिया