राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ।
इलाम जिल्ला कमिटीले ३ जनाको नाम सिफारिस गरेकोमा संसदीय समितिले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।
गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन्। हाल उनी राप्रपा शिक्षा विभागमा सदस्य पनि छन्।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि एमालेले इलाम २ मा सुवास नेम्वाङका पुत्र सुहाङलाई टिकट दिएको छ। त्यहाँ रास्वपाले माओवादी केन्द्र छाडेका मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ।
सत्तारुढ नेकपा एकीकृत समाजवादीले माईजोगमाई गाउँपालिका अध्यक्षमा पराजित जीतबहादुर राईलाई टिकट दिएको छ।
उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छैन। तर २०७९ मा नेम्वाङसँग पराजित डम्बर खड्का उठ्ने सम्भावना बलियो छ।
Shares
प्रतिक्रिया