राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तनको डढेलो लागेको बताएका छन्। उनले पहाडका सिंगो गाउँमा धर्म परिवर्तन भइरहेको बताए।
राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘तराईमा पनि म सुन्दैछु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ। हामीलाई कुनै पनि धर्मको विरोध गर्नु छैन। इसाईहरू आजभन्दा ७० वर्षअगाडि औंलामा गन्न सक्ने संख्यामा थिए। १०–१२ जना मात्रै थिए, याद राख्नुस्। अहिले लाखौं भएका छन्।’
उनले पश्चिमा मुलुकहरूले भारत र चीनलाई नियन्त्रण गर्न धर्म परिवर्तन गराएर नेपाललाई साँस्कृतिक उपनिवेश बनाउन खोजिरहेको दाबी गरे।
त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारका रुपमा प्रयोग भएको आरोप पनि थापाले लगाएका छन्।
पूर्व उपप्रधान तथा गृहमन्त्री थापाले धर्म परिवर्तनको लहरले सनातन धर्म कमजोर मात्रै हुने नभइ नेपालमा कहिले नभएको धार्मिक, सांस्कृतिक द्वन्द्व, विवाद, झगडा र युद्ध हुन सक्ने खतरा देखिएको बताए।
अध्यक्ष थापाले नेपालमा संघीय धर्म निरपेक्ष गणतन्त्र असफल भएको दाबी गरे। यसको प्रमाण अहिले देश भ्रष्टाचारको दलदलमा भासिएको बताए। केही सीमित दलका नेताहरूले सिन्डिकेट खडा गरेर देशमा ब्रह्मलुट गरिरहेको आरोप थापाले लगाए।
मुलुकमा राजासहितको प्रजातन्त्र तथा हिन्दूराष्ट्र पुनर्स्थापना र निर्वाचन प्रणालीमा सुधार अपरिहार्य रहेको उनले बताए।
‘राप्रपा नेपाल अलग पहिचान र फरक विचार बोकेको पार्टी हो। २०८४ सालमा राप्रपा नेपाललाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ’, उनले भने।
राप्रपा नेपाल रुपन्देहीका अध्यक्ष अर्जुन थापा 'कालु' को अध्यक्षतामा कार्यक्रममा भएक हो। कार्यक्रममा पार्टीका केन्द्रीय सहायक महामन्त्री दिनेशचन्द्र गुप्ता, लुम्बिनी विकास क्षेत्र समन्वय समितिका अध्यक्ष उत्तम तिमिल्सिना लगायत पनि बोलेका थिए।
Shares
प्रतिक्रिया