प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा मुख्यमन्त्री पद छाड्न पार्टीको प्रदेश कमिटीलाई निर्देशन दिएका छन्। कर्णालीमा हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा मुख्यमन्त्री छन्।
अध्यक्ष प्रचण्डले सोमबार दिउँसो पार्टीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरेर मुख्यमन्त्री पद एमालेलाई दिन भनेका हुन्।
कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी छ। तर विश्वासको मत लिनुअघि अध्यक्ष प्रचण्डले कर्णाली एमालेको भागमा परेकाले सबै प्रक्रिया रोक्न मौखिक र लिखित निर्देशन दिएका हुन्।
‘केन्द्रबाट सर्कुलर आउँदै छ, निर्देशन आइसक्यो’ मल्लले नेपालखबरसँग भने, ‘अहिले गठबन्धनको सहमतिका आधारमा कर्णाली प्रदेश मुख्यमन्त्री नेकपा एमालेको भागमा पर्यो।’
प्रधानमन्त्रीको निर्देशनपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार लिन लागेको विश्वासको मत स्थगित गर्नुपर्ने भएको मल्लले बताए।
‘प्रधानमन्त्रीले मलाई दिउँसो फोन गरेर निर्णय यस्तो भएको छ, इन्चार्जज्यू निर्णय कार्यान्वयन गराउनु होला भनेर निर्देशन दिनुभयो’ मल्लले थपे, ‘भोलि (मंगलबार) विश्वासको मत लिने कुरा क्यान्सिल गर्नुपर्न अवस्था आयो।’
प्रचण्डको निर्देशनलगत्तै मल्लले कर्णालीका मुख्यमन्त्री शर्मासँग संवाद गरेका थिए।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि आइतबारै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्।
फागुन २१ गते एमाले–माओवादी नयाँ गठबन्धन बनेपछि कर्णाली सरकारमा रहेको नेपाली कांग्रेस समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि शर्मा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री शर्मा माओवादीभित्र जनार्दन शर्मानिकट मानिन्छन्।
तर, कर्णालीमा मुख्यमन्त्रीको दाबी गरिरहेको एमाले मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेकोप्रति असन्तुष्ट थियो।
मुख्यमन्त्री शर्माले एमालेसँग सल्लाह नगरी विश्वासको मत लिन लागेको नेकपा एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेलले आइतबार नेपालखबरलाई बताएका थिए।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसद एक–एक जना छन्।
Shares
प्रतिक्रिया