शीर्ष नेताहरूबीच विवाद भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवार छान्न सकेन।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ४ घन्टासम्म भएको छलफलमा सहमति जुट्न नसक्दा कांग्रेसले इलाम २ र बझाङ-१ प्रदेश सभाको उम्मेदवार छान्न नसकेको हो।
खासगरी इलाम २ का लागि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का २०७९ मा पराजित डम्बर खड्काको पक्षमा छन्। उता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला भेषराज आचार्यको पक्षमा देखिएका छन्।
दुवै पक्ष खड्का र आचार्यका लागि अडान नछाडेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार अपराह्न ४ बजेसम्मलाई रोकिएको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भोलिको बैठकमा उम्मेदवार टुंगो गरिने बताए।
‘आज निर्णय भएन। हाम्रो ठूलो पार्टी धेरै जना उम्मेदवारका आकांक्षी छन्। सबैलाई सम्झाएर निष्कर्षमा पुग्ने कुरा भएको छ’, उनले भने, ‘भोलि ४ बजे बसेर कुरा टुंग्याउँछौँ। आज छलफल मात्रै भयो।’
संसदीय बोर्डको बैठकमा महामन्त्री गगन थापाले स्थानीय समितिको रिपोर्टका आधारमा पनि भेषराजलाई टिकट दिनुपर्ने कुरा उठाएका थिए। तर देउवाले खड्काको पक्षमा अडान राखिरहेपछि अर्का नेता डा. शेखर कोइरालाले पनि स्थानीय समितिको सिफारिसलाई ख्याल नगरेको भन्दै रोष प्रकट गरे।
दिउँसो २ बजेबाट हुने भनिएको कार्यसम्पादन बैठकअघिको संसदीय बोर्ड बैठकस्थलमा पुगेर डा. कोइरालाले तल्लो समिति र महामन्त्रीहरूले समेत भेषराजले जित्ने सम्भावना रहेको बताइरहेको कुरालाई देउवाले अस्वीकार गरेको भन्दै आपत्ति जनाएका थिए।
‘महामन्त्रीहरू विश्वप्रकाश र गगनले भेषराजलाई नै टिकट दिनुपर्ने कुरा उठाउनु भएको थियो। तर उहाँहरूले राखेको कुरामा शेरबहादुर र पूर्णबहादुर मान्नु भएन’, बूढानीलकण्ठबाट एक नेताले नेपालखबरलाई भने, ‘त्यसपछि शेखर कोइरालाले सभापतिसँग त्यही कुरा राख्नु भयो। तर सभापति नमानेपछि उहाँ बाहिरिनु भयो। शेखरसँगै शशांकले पनि भेषराजलाई टिकट दिनुपर्ने कुरा राखेर बाहिरिनु भयो।’
नेता शेखरले बझाङ प्रदेशसभा निर्वाचनमा पनि स्थानीय चुनावमा तेस्रो मत ल्याएकालाई टिकट दिन लागेको भन्दै आपत्ति जनाएका थिए।
‘यसअघिका निर्वाचनमा हारेकालाई टिकट नदिने कुरा भएको थियो। तर बझाङमा स्थानीय तह निर्वाचनमा वडामा तेस्रो मत ल्याएकोलाई टिकट दिन लागियो’, शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो र भूगोलको सुझाव र सिफारिस नमान्ने भए तपाईंहरू नै दोषको भारी बोक्नुस् र जिम्मा पनि लिनुस्।’
शेखरको कुरामा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि सहमति जनाउँदै चुनाव जित्ने आधार भेषराजसँग बलियो रहेको भन्दै उनैलाई टिकट दिन देउवालाई भनेका थिए। तर देउवाले खड्काको पक्षमा अडान राखिरहेपछि कोइरालाद्वय बैठक छाडेर हिँडेका थिए।
Shares
प्रतिक्रिया