प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङ १ को प्रदेशसभा क्षेत्र नं. १ मा हुन वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई दिने तयारी गरेको छ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अभिषेक क्षमतावान पनि भएकाले उनैलाई टिकट दिने दिशामा छलफल भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
‘बझाङको उपनिर्वाचनमा उठाउने उम्मेदवारबारे पनि निर्णय भइसकेको छैन। हामी त्यहाँका साथीहरूको कुरा सुन्दैछौँ। इलाम २ को पनि टुंगिएको छैन’, उनले भने, ‘एकजनाको नाम छान्नका लागि आकांक्षीहरूलाई पनि बिहीबार बिहानको संसदीय बोर्डको बैठकमा राख्दैछौँ।’
उनले इलाम र बझाङका आकांक्षीहरू पार्टीको जिल्ला नेतृत्वमा रहेकाहरू भएकाले उनीहरूलाई राखेर छलफलपछि निर्णय लिने बताए।
बझाङ प्रदेश सभाको हकमा पृथ्वीबहादुर सिंहका पुत्र अभिषेकको नाम प्रवल दाबेदारका रुपमा आएको उनले बताएका छन्।
‘बझाङमा पनि पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहको नाम आएको छ। यतिबेला उहाँप्रति सबैको सान्तवना मिलेको छ’, उनले एमालेले सुवास नेम्वाङ पुत्र सुहाङलाई इलाम २ को टिकट दिएको प्रसंगमा भने, ‘अभिषेक क्षमता भएका युवा पनि रहेछन्। त्यसैले जिल्ला नेतृत्वले पनि उनीप्रति सद्भाव राखेको छ। बझाङ उपनिर्वाचनको टिकट अभिषेकलाई दिने दिशामा छलफल चलिरहेको छ।’
आकांक्षीको लर्को
कांग्रेस जिल्ला कार्यसमितिबाट बझाङ प्रदेश सभा उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस भएको थियो।
तीन जनाको नाम सिफारिस गर्न भनिए पनि कांग्रेस जिल्ला कार्यसमितिले १० जनाको नाम सिफारिस गरेर पठाएको थियो।
टिकटका लागि प्रवल दाबेदार कांग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी र अभिषेकबहादुर सिंह हुन्। अभिषेक सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्।
गत असार ५ गते मन्त्री सिंह, उनकी पत्नी र भाउजूको बझाङकै केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो।
सिंहको निधनपछि रिक्त बझाङ १ (१) मा कांग्रेसबाट उनका छोरा अभिषेक चुनाव लड्ने तयारीमा छन्। उनी राजनीतिमा पनि सक्रिय छन्।
यसपटकको स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए।
बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढिरहेका बेला कांग्रेस पनि उनैलाई अघि सार्ने तयारीमा लागेको हो।
बझाङमा जगतप्रसाद जोशी र लोकेन्द्र बहादुर रोकाया पनि टिकटका लागि धाइरहेका छन्।
कांग्रेसबाट सिफारिसमा पर्नेमा शान्ति बोहरा (पुजारा), नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, नारायण हमाल र अर्जुन स्याडा पनि हुन्
निर्वाचन कार्यतालिका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ। २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ।
यस्तै, २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको छ। १५ वैशाखमा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
Shares
प्रतिक्रिया