सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दलहरूलाई १० दिनको समय दिएका छन्।
बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुख मियाँले आगामी वैशाख २ गते बेलुका ५ बजेसम्मको समय दिएर शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आगामी वैशाख २ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्नआह्वान गर्नु भएको छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले भनेका छन्।
कांग्रेसबाट शाह २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए। उनले १४ महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरे।
तर प्रदेशको सबैभन्दा ठूलो दलले बहुमत गुमाउन पुग्दा शाहले विश्वासको मत नलिई बिहीबार पदबाट राजीनामा दिएका थिए।
सुदूरपश्चिममा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीमा देखिएको चर्को विवादका कारण शाहले सत्ताबाट हात धुनुपरेको हो।
सरकार जोगाउन शाहले नाउपाका ५ सांसदलाई मन्त्री बनाएका थिए। तर नाउपाका २, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद तटस्थ बसिदिँदा शाहले बहुमत जुटाउन नसकेर विश्वासको मत नलिई राजीनामा दिएका हुन्।
Shares
प्रतिक्रिया