आगामी वैशाख १५ को उपनिर्वाचनमा इलाम–२ का नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि सहयोग गर्ने भएको छ।
यसअघि उनलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो। शनिबार विप्लव नेतृत्वको नेकपाका इलाम इन्चार्ज मौसम सीसँग एमाले र माओवादीले सहकार्य गर्ने सहमति गरेको हो।
एमाले, माओवादी र नेकपाले एक संयुक्त अपिल समेत जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेको छ।
अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इन्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् ।
उक्त अपिलमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको बताइएको छ।
सुहाङका बुवा समेत रहेका एमाले नेता सुवास नेम्वाङको निधनपछि यहाँ पद रिक्त छ। सो पदका लागि निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि चुनाव गर्ने कार्यतालिका बनाएको छ।
Shares
प्रतिक्रिया