नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए।
उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताए।
उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए।
उनले संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई कांग्रेसले सच्याउनुपर्ने बताए। नेपाली कांग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए।
उनले भने, ‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या। यस्तो गर्नुहुँदैन। संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ। त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुरा। सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा। हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन? उहाँहरु तर्कमा आउनुहुन्न। ढिपी, जिद्दीमा जानुहुन्छ।’
अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए। उनले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयकहरु परित गर्न नसकेको बताए।
Shares
प्रतिक्रिया