चैत २७ गते। राप्रपाले देशभरबाट नेता/कार्यकर्ता काठमाडौँ उतारेको थियो। सो दिन राप्रपाले विभिन्न ४० बुँदे माग राखेर बृहत् प्रदर्शन आयोजना गरेको थियो। सो पार्टीले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी, हिन्दुराष्ट्र घोषणा लगायतका माग राख्दै आएको छ।
पार्टी केन्द्रको सर्कुलर मानेर बर्दियाका नेता ठाकुरप्रसाद डाँगी पनि काठमाडौँ आए। उनी आफ्नो नगर र जिल्लाबाट आन्दोलनमा सहभागी हुन आएकालाई नेतृत्व गरेर काठमाडौँ आएका थिए।
उमेरले ७० टेक्न लागेका उनी प्रदर्शनमा त सामेल भए। तर, प्रहरीसँग घम्साघम्सीमा परेका उनीले सोमबार (वैशाख ३) बिहान संसारै छाडेका छन्।
भद्रकाली मन्दिर परिसरमा प्रहरीसँग भएको घम्साघम्सीमा डाँगी घाइते भए। सुरुमा उनलाई चाबहिलस्थित ओम अस्पताल पुर्याइयो।
छोरा देवबहादुर डाँगी पनि बुवासँगै आन्दोलनमा आएका थिए। उनैले बुवालाई अस्पताल पुर्याए।
ओम अस्पतालमा उपचार नहुने भएपछि भोलिपल्ट वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्याएको बताउँछन् नाति धर्म डाँगी।
अहिले उनको परिवार शोकमा छ। परिवार निकट स्रोतले बताए अनुसार डाँगीको जन्म विसं २००९ सालमा भएको थियो। ठाकुरप्रसादका तीन श्रीमती छन्। उनीहरूबाट ९ सन्तान भए। डाँगीका ५ छोरी र ४ छोरा छन्। उनीहरू सबै परिवारसहित बर्दियामै बस्छन्।
ठाकुरप्रसादका ४ दाजुभाइ। जेठो दाजुको निधन भइसक्यो। ठाकुर साँइला हुन्।
माइला दाजु प्रेमबहादुर डाँगी प्रधानपञ्च थिए। परिवारकै आस्था पहिलेदेखि राप्रपामै थियो।
ठाकुरप्रसादका कान्छा भाइ लोकबहादुर डाँगी शिक्षक छन्।
लामो समय पार्टीमा लागेका बुुवाले अनाहकमा ज्यान गुमाउँदा निकै ठूलो पीडामा छन् जेठा छोरा मानबहादुर डाँगी।
‘सग्लै देश बनाउँछु भनेर आन्दोलनमा जानुभएको थियो, अहिले शव कुरिरहेका छौँ,’ मानबहादुरले रुँदै नेपालखबरसँग भने।
डाँगीको शव सोमबार दिनभर पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिएको थियो। पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उनको पार्थिव शरीरलाई सोमबार नै बर्दिया पठाइँदैछ।
अर्का छोरा भुवनेश्वर डाँगीले पार्टीले गरेको सम्मान र श्रद्धाञ्जलीप्रति आभार व्यक्त गरे। तर, सरकारले भने सहिद घोषणा गरेर बुवाप्रति सम्मान गरिदेओस् भन्ने उनको अपेक्षा छ।
डाँगी पछिल्ला दिनमा पनि खेतीपातीकै काममा सक्रिय थिए।
झण्डै ६ दिन डाँगीलाई उपचारका लागि अस्पताल राखियो। अस्पताल र चिकित्सकले राप्रपा नेताहरूलाई बताए अनुसार, ‘ब्रेन ह्यामरेज’ का कारण उनको निधन भएको हो।
खासमा उनी श्वासप्रश्वासको समस्याबाट पहिल्यैदेखि पीडित थिए। प्रहरीले प्रहार गरेको अश्रुग्यासका कारण उनको स्वास्थ्यमा समस्या बढ्यो।
सोही आन्दोलनमा भएकी राप्रपा सांसद गीता बस्नेतका अुनसार अश्रुग्यास प्रहारपछि डाँगी सडकमै ढलेका थिए। जतिबेला उनको टाउकोमा पनि चोट लाग्नपुग्यो।
उनलाई निमोनियाको समेत समस्या थियो।
उनी मधुवन नगर समितिका बहालवाला अध्यक्ष हुन्। बस्नेतका अनुसार, डाँगी राप्रपाका संस्थापक सदस्य पनि हुन्।
‘बरु हामी पार्टी विभाजन हुँदा राप्रपा नेपालतिर लाग्यौँ, उहाँ सधैँ एक मन, एक चित्त भएर हलो चिन्ह नै राजेर बस्नुभयो,’ बस्नेतले भनिन्, ‘उहाँजस्तो नेता गुमाउनु पर्दा हामीलाई निकै ठूलो क्षति पुगेको छ।’
उनका अनुसार सोही घटनामा घाइते भएकामध्ये अझै ६ जना जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा छन्।
डाँगीको अन्त्येष्टि मंगलबार मात्रै हुनेछ। बर्दियाकै नेतृसमेत रहेकी सांसद बस्नेतले सोमबार शव घरमै लगिने र मंगलबार स्थानीय कुश्माघाटमा अन्त्य गरिने जानकारी गराइन्।
सांसद बस्नेत पनि सोही आन्दोलनमा घाइते भएकीमध्ये एक हुन्। घाइते हुनासाथ उनलाई प्रहरीले नै नजिकैको वीर अस्पताल पुर्याएको थियो।
‘म पनि बल्लबल्ल बाचेँ,’ उनले भनिन्, ‘प्रहरीकै साथीहरूले अस्पताल त पुर्याइदिनुभएछ, अहिले अलि हल्का महसुस गर्दैछु।’
सहिद घोषणा गर्न माग
राप्रपाले चैत २७ गतेको आन्दोलनमा सरकारले दमन गरेको अभिव्यक्ति यसअघि नै संसदमा दिइसकेको छ। उसले भोलिपल्टै संसदमा उपस्थित भएर गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग गरेको थियो।
सोमबार घाइते डाँगीको निधन भएपछि राप्रपाले सहिद घोषणा गर्न माग गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ‘नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास’ भएको बताएका छन्।
साथै, पार्टीले स्व. डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ।
उनको निधनमा शोक प्रकट गर्दै राप्रपाले पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।
गृहमन्त्रीले जवाफ दिनैपर्छ : सांसद शाही
शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको र नागरिकको ‘हत्या’ गर्न उद्यत भएको भन्दै राप्रपाले गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेको छ।
सांसदसमेत रहेका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यो दमनलाई पार्टीले सामान्य रुपमा नलिने बताए।
‘हामी यसको व्यापक जवाफ माग गर्छौँ,’ शाहीले नेपालखबरसँग भने, ‘गृहमन्त्री भगवान होइन, स्टारडम देखाएर मान्छे मार्न पाइँदैन।’
उनले गृहमन्त्री लामिछानेले जे गर्दा पनि सही हुने भन्ने समर्थकहरूलाई ‘भेडा’को संज्ञा समेत दिन भ्याए।
‘उहाँ (गृहमन्त्री)ले जे गरेपनि सही हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘उहाँका भेडाहरूले जति जे भने पनि यो विषयमा जवाफ दिनैपर्छ।’
Shares
प्रतिक्रिया