प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरुप पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलवार संसदीय सुनवाई समितिको बैठकमा उनले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएका हुन्। रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरुप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए।
उनले भने, ‘सबभन्दा पहिले स्वतन्त्रता र संस्थागत सुदृढीकरण। यसमा मैले राखेको विषय चाहिँ परिवर्तित संघीय शासन प्रणाली अनुरुप महालेखा परीक्षकको कार्यालयको संगठनको पुनर्संरचना गरिने। अघि मैले माथि नै अनुरोध गरिसकेको छु। प्रदेशमा सार्वजनिक लेखा समिति छ। स्थानीय तह दुरुदराजमा छन्। अब हामी केन्द्रमा मात्रै बसिरहेर त्यो बेरुजु र लेखा संपरीक्षणको काम गर्नलाई खर्चिलो पनि भएको छ।’
उनले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरु तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए।
वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरुमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ।
प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताए।
Shares
प्रतिक्रिया