सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिह्न (लोगो) र खादा ओढाएर बधाई दिए।
सङ्घीय संसद्को कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनुअघि सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ। सो अवसरमा सचिवालयका तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद् सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजात उपलब्ध गराए।
सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन्। केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद् सचिवालयलाई जानकारी गराए।
स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी छन्।
सांसद खानले भनिन्, “सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्दा प्रभावकारी रुपमा उठाउने प्रयत्न गर्नेछु।”
रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मिएकी सांसद खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्छिन्। उनी रुपन्देहीबाट विवाह गरेर बाँके गएकी हुन्। सांसद खानको अहिले बाँके कार्यक्षेत्र छ। रासस
Shares
प्रतिक्रिया