प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच आज (मंगलबार) भेटवार्ता भएको छ।
इलामका चिया उद्योगीहरूको डेलिगेसनको नेतृत्व गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका पूर्वप्रधानमन्त्री खनालले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक विषयमा पनि वार्ता गरेका छन्।
बालुवाटारबाट बाहिरिनेत्तिकै नेपालखबरले राखेको जिज्ञासामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले वर्तमान सत्ता गठबन्धनलाई अझ सुदृढ बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डसँग संवाद भएको बताए।
‘अहिले जुन नयाँ समीकरण बेनको छ, यो समीकरणलाई अझै सुदृढ बनाऊँ, बढी आत्मीय बनाऊँ, समीकरणका घटकहरूबीचको सम्बन्धलाई राम्रो बनाऊँ र सबैलाई सम्माजनक ढंगले समानतापूर्ण ढंगले एकताबद्ध बनाएर अगाडि बढाऊँ भन्ने विषयमा छलफल भयो। यसमा हामीहरू यसरी नै दृढतापूर्वक अगाडि बढ्नुपर्छ भन्ने कुराहरू भयो।’
तपाईंकै पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त असन्तुष्टि व्यक्त गरिरहनुभएको छ नि भन्ने प्रश्नमा खनालले भने, ‘व्यक्तिहरूले बाहिरफेर चर्चा/परिचर्चा, टिकाटिप्पणी गर्दा यसले पनि समझदारीलाई झन् बिगार्दै लान्छ, प्रक्रियासम्मत् ढंगले, मैत्रीपूर्ण हिसाबले सबै नेताहरूले बोल्ने व्यवहार गर्ने कामहरू पनि गर्नुपर्ने भयो।’
नेता खनालले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धनबाट दायाँबायाँ हुने पक्षमा नरहेको जिकिर पनि गरे।
उनले भने, ‘हाम्रो पार्टी (एकीकृत समाजवादी) समीकरण (सत्ता गठबन्धन) कै पक्षमा छ, यसभन्दा यताउति गर्ने पक्षमा छैन।’
केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष नेपालले सार्वजनिक रूपमै गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनले गठबन्धनभित्र आफ्नो पार्टीको अवमूल्यन भइरहेको आशय व्यक्त गर्दै उनले यस्तै रहे गठबन्धन कुन बेला टुट्छ, ठेगान नहुने चेतावनीसमेत दिइरहेका छन्।
Shares
प्रतिक्रिया