उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औँ पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन्।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिने भएपनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे।
‘कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिन्छ र बाहिर जाने म्यानपावरबाट जान्छ, उनीहरुलाई आफ्नै देशमा रोक्ने ठूलो सेक्टर कृषि हो। तर प्रमुख प्राथमिकतामा कहिल्यै कृषि परेन। नेपाल कृषिप्रधान भन्यो र सबैकुरा बाहिरबाट किनेर ल्याउने अवस्था भयो। उद्योगहरु दोस्रो कुरा हो,’ यादवले भने, ‘विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु जहाँ लाखौँ रोजगारी पाएका थिए, ति उद्योगहरु बन्द भएका छन्, गलत नीतिका कारण। निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिएर ति उद्योगहरु सबै बन्द भएका छन्।’
उद्योग धन्दाहरू सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताउँदै उनले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको टिप्पणी गरे।
उपप्रधानमन्त्री यादवले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६ औं पञ्चवर्षीय योजनामा नराखिएको पनि बताए।
‘कसरी सञ्चालन गर्ने? र नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने? त्यस विषयमा प्राथमिकतामा पर्नुपर्छ। हामीसँग ठूलो सम्भावना भएको पर्यटन हो। हाइड्रो हो। यति विकास गर्नसके पनि मुलुकमा गरिबी र बेरोजगारी रहँदैन,’ यादवले भने।
परम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा विकास सम्भव नरहेको उनको भनाइ थियो।
‘मैले त्यो प्राथमिकतामा राखेको पाइनँ। वा मैले नबुझेर हो की? तर मैले यसमा मुख्य प्राथमिकतामा देखिनँ। मुख्य प्राथमिकता कृषि हो, कृषिसँग जोडिएका सिंचाई लगायतका हुन्छन्। परम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा सम्भव छैन,’ उनले भने।
Shares
प्रतिक्रिया