इलाम–२ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आइतबार बिहानबाट मात्रै सुरु हुने भएको छ। सो क्षेत्रमा पर्ने विकट भूगोलको मतपेटिका अझै सदरमुकाम इलाम बजार नआइपुगेकाले आज मतगणना सम्भव नभएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार, अहिलेसम्म इलाम बजारमा ७० देखि ८० वटा मतपेटिका आइपुगेका छन्। माङ्सेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिकाका मतपेटिकाहरू आइपुग्न बाँकी रहेको घिमिरेले बताए।
‘अब भोलि बिहानैबाट मात्रै मतगणना सुरु गर्ने सहमति भएको छ,’ उनले भने, ‘बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाएको छौँ। त्यसपछि मतगणना सुरु हुन्छ।’
सदरमुकामबाट पश्चिमतर्फ रहेका ती पालिकाहरू भौगोलिक हिसाबले पनि विकट छन्। त्यहाँबाट कच्ची बाटो हुँदै प्रहरीले सुरक्षा दिएर मतपेटिकाहरू गणनास्थलसम्म ल्याँइदै गरेको घिमिरेले बताए।
इलाम बजारस्थित गौतम बुद्ध सिटी हलमा मतगणनाका लागि प्रबन्ध मिलाइएको छ।
निर्वाचन आयोगले शनिबार साँझ पत्रकार सम्मेलन गरेर आज मतगणना हुने बताएको थियो। राजनीतिक दलका नेता कार्यकर्ताहरू अहिले नै मतगणना सुरु हुने भएपछि उत्साहित हुँदै गणनास्थलमा पुगेका थिए।
तर, मतपेटिकाहरू आउन ढिला भएपछि भोलि मात्रै हुने भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहानैबाट सुरु गरेर लगभग १२ घन्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।
‘सकेसम्म भोलि बेलुकी १० बजेसम्म नतिजा आइसक्छ, सोही अनुसार हामीले तयारी गरेका छौँ,’ उनले नेपालखबरसँग भने।
इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्
उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्।
यहाँ एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।
१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
Shares
प्रतिक्रिया