इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा फाकफोकथुम गाउँपालिकाको मतगणना सकिएको छ। आइतबार मध्यान्हबाट सुरु भएको मतगणनाको सुरुवाती चरणमा नेपाली कांग्रेसले अग्रता लिएको थियो।
तर, वडा नम्बर ४ को मतगणना सुरु भएदेखि नेकपा एमालेले अग्रता आफ्नो पोल्टामा पारेको छ। कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्का वडा नम्बर १, २ र ३ मा अघि थिए।
वडा नम्बर ४ मा एकैपटक ३ सय ४५ मतान्तर बनाएका नेम्बाङले त्यसयता मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्धन्द्धि नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर १ हजार १ सय १५ मतको रहेको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ६ सय ४५ मत प्राप्त गरेका छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँका तीन वटा वडा नेकपा एमालेले जितेको थियो भने ४ वटामा कांग्रेस थियो।
कांग्रेसले आफूलाई यो क्षेत्रमा मत बलियो भएको दाबी गर्दै आएको थियो। तर, यहीँबाट कांग्रेसले १७ महिनाअघिको मत जोगाउन नसकेको देखिन्छ।
Shares
प्रतिक्रिया