प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर– २ मा वैशाख १५ गते भएको उपनिर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहान सार्वजनिक भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्।
एमाले उम्मेदवार नेम्वाङलाई माओवादी केन्द्र, नेपाल परिवार दल लगायतको पनि समर्थन थियो।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) मतगणनामा तेस्रो भएका छन्। उनले ११ हजार चार सय ५७ मत पाउँदा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन्। लामो समय पत्रकारिता गरेका माओवादी केन्द्र पृष्ठभूमिका लिम्बू चुनाव अघि स्वतन्त्र बनेका थिए।
निर्वाचनमा रास्वपाले उनलाई आफ्नो उम्मेदवार बनाएको थियो।
मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारले जम्मा चारसय ८ मत मात्रै पाएका छन्।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए।
कसले कति मत पाए हेर्नुहोस्
Shares
प्रतिक्रिया