शुक्रबारबाट सुरु भएको संघीय संसद्को बजेट अधिवेशन सुखद हुन सकेन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको नाराबाजी र अवरोधपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।
कांग्रेसले लगातार संसद्मा गगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित अवरोध गर्दै आइरहेको छ।
हिँउदे अधिवेशनको अन्त्यसम्मै कांग्रेसले अवरोध छाडेको थिएन। शुक्रबारका लागि तय भएको बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्ने कार्यसूची थियो।
सहकारीको रकम हिनामिना भएकोबारे प्रश्न उठाउँदै आएको कांग्रेसले शुक्रबार बिहानै संसदीय दलको बैठक राखेर गृहमन्त्रीको कुरा सुन्ने निर्णय गरेको थियो।
तर, संसद् बैठकमा भने त्यस्तो भएन।
दुई चरणमा गरेर बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउन खोज्दै थिए। तर, कांग्रेसले संसदीय गतिविधि अघि बढाउन नपाइने अडान लियो र नाराबाजीमा उत्रियो।
दोस्रो पटक बसेको बैठकमा पनि कांग्रेसले अवरोध जारी नै राख्यो। अवरोधकैबीच सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए।
तर, गृहमन्त्री बोल्न रोष्ट्र जानलाग्दा कांग्रेस सांसदहरूले रोके। लगभग ५ मिनेट बढी आफ्नो आसनमा उभिएका गृहमन्त्री लामिछानेले बोल्नै नपाइ सभामुखले आसनमा बस्न आग्रह गर्नुपरेको थियो।
कांग्रेसको अवरोधपछि शुक्रबार तय भएका कुनैपनि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ।
अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजेका लागि बोलाइएको छ। सो दिन सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ।
Shares
प्रतिक्रिया