मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको छ।
मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएपछि सरकारबाट समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ।
प्रदेशका १ सय ७ प्रदेस सभा सदस्यहरुमध्ये मधेस सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक हुन्छ।
पछिल्लो पटक ६१ प्रदेस सभा सदस्यहरुको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेस सरकार अल्पमतमा परेको हो।
प्रदेश सभामा माओवादी केन्द्रका ९ प्रदेश सभा सदस्य रहेका छन्। आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए।
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न स्वीकारेका थिएनन्।
भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए।
पार्टीका संसदीय दलका नेता समेत रहेका साहले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता भएको जानकारी समेत गराइसकेका छन्।
Shares
प्रतिक्रिया