नेकपा एमालेका नेता भीम रावलले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन्।
मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको तर आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै नेता रावलले ओलीकै कारण एमालेमा बसिरहने अवस्था नरहेको आरोप लगाएका हुन्।
‘पार्टी नेता भनेको त अध्यक्षका लागि सबै कार्यकर्ता बराबर हुनुपर्ने होइन? कुनै जिल्लाको कुनै मान्छे आउनलाई उहीँ गएर टीका लगाइदिने, कसैलाई नरोकी नहुने? पार्टीको नेतृत्वले गर्ने काम हो यो? मैले भन्दा आलोचना गर्यो भन्लान्। यो यथार्थ हो, तीतो यथार्थ हो’, रावलले भनेका छन्, ‘यस्ता कुराहरू नगरेर पार्टीमा मान्छेका कुरा राख्न दिने, छलफल गर्ने सबैको भावनाको कदर गर्ने, पार्टीलाई एकताबद्ध बनाउने विषयमा जाने हो भने अहिले पनि मेरो पहिलो प्राथमिकता र पहिलो विकल्प भनेको नेकपा एमाले नै हो।’
अन्तर्वार्ताकार सोध्छन् : त्यो देख्नुभाछ अझै?
रावल : म त्यो सम्भावना उहाँहरूको व्यवहारले उहाँहरूको अभिव्यक्तिले गर्दा त्यसमा पूरै उहाँहरूले त तगारो लगाएको त म देखिराख्या छु। त्यति मात्र होइन, पार्टीका अमुक अमुक नेताहरूले कार्यकर्ताहरूलाई बोलाएर मेरो बारेमा– उहाँलाई कुनै जिम्मा दिइन्न, तपाईंहरूलाई जानकारी होस्, धम्कीपूर्ण कुराहरू गरेको जानकारी पनि मलाई छ, ती कार्यकर्ताहरूले मलाई भनेका छन् नि। त्यसकारण म सम्भावना त कम देख्छु।
अहिले आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरेको आरोप रावलले लगाएका छन्।
उनले अन्तर्वार्तामा भनेका छन्, ‘पार्टीको कुनै औपचारिक कार्यक्रमबाट मलाई वञ्चित गरिएको छ, त्यो चाहे जिल्ला अधिवेशन होस्, त्यहाँ कांग्रेसका, माओवादीलाई शुभकामना दिन आमन्त्रण गर्ने, म त्यही जिल्लाको बहालवाला सांसद हुँदा केन्द्रका केही नेताहरूको इशारामा मलाई त्यसबाट वञ्चित गर्ने, पार्टीमा भएका कुनै पनि कार्यक्रममा मलाई नबोलाउनु, बोलायो भने तिमीहरूको नम्बर काटिन्छ, तिमीहरूले चाहिँ योजना पाउँदैनौँ भनेर धम्क्याउने, त्यो प्रक्रिया जारी छ। चाहे प्रदेश होस्, चाहे जिल्ला होस्, चाहे केन्द्र होस्।’
यही वैशाख वैशाख ८ र ९ गते ललितपुरमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकयता रावल पार्टीप्रति एकदमै रुष्ट भएका हुन्।
त्यस बैठकमा आफूलाई निषेध गरेको भन्दै उनले त्यसबेलै रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी भनेका थिए, ‘एमालेको सिद्धान्त,कार्यक्रम र हितको पक्षपोषण गर्दागर्दै पनि महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा निषेध गरी प्रतिशोधले धकेलेर घुम्तीमा पुगाएको महसुस भएको छ।’
Shares
प्रतिक्रिया