ad ad

राजनीति


ओलीप्रति गगनको आक्रोश : अर्को पार्टीको अध्यक्षले कांग्रेस सांसदलाई हप्काउन मिल्छ?

ओलीप्रति गगनको आक्रोश : अर्को पार्टीको अध्यक्षले कांग्रेस सांसदलाई हप्काउन मिल्छ?

नेपालखबर
जेठ ३, २०८१ बिहिबार २१:१२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले ओलीप्रति आक्रोश व्यक्त गरेका हुन्।

उनले सभामुखले जबर्जस्त बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले बिरोध गरेको भन्दै एमाले अध्य ओलीले कांग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताए।

उनले भने, ‘एमालेका अध्यक्षज्यू एउटा कुरामा झुक्किनु भयो जस्तो लाग्यो। उहाँले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठान्नुभयो जस्तो लाग्यो। एमालेका सांसदहरुलाई उहाँको कुरा हो, उहाँले हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार राख्नहुन्छ होला। उहाँहरुको सम्बन्ध पनि त्यस्तै होला।’

उनले थपे, ‘तर नेपाली कांग्रेस पार्टीका बारेमा त्यो नसोच्नु होला। कांग्रेसका सांसदका बारेमा पनि त्यो नसोच्नु होला। हामी तपाइका कार्यकर्ता होइनौँ।’

महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए। उहाँले सरकारमा बसेका मन्त्रीहरुले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे। उनले सबै फाइल खोले पनि कांग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारे।

महामन्त्री थापाले संसदीय छानबिन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसदमा सरकारी काम, कारबाही अगाडी बढ्न नदिने बताए।

थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताए। उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडी बढेको बताए।

उनले संसदमा जबर्जस्ति कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .