ad ad

राजनीति


विक्रम मिस्री भ्रमण : ओलीले निम्तो दिए, मोदीको पाएनन्

विक्रम मिस्री भ्रमण : ओलीले निम्तो दिए, मोदीको पाएनन्

विदेश सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् (रासस)


रामकुमार डिसी
साउन २८, २०८१ सोमबार २१:५५, काठमाडौँ

भारतीय विदेश सचिव विक्रम मिस्री आफ्नो दुई दिने नेपाल भ्रमण टुंग्याएर सोमबार साँझ स्वदेश फर्किसकेका छन्। नेपालमा रहँदा उनले निकै रफ्तारमा राजनीतिक भेटघाट गरे।

राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेता, महत्वपूर्ण मन्त्रालयका मन्त्री, सबैसँग छोटो अवधिमै भेटघाट गर्न भ्याए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि यो नै दक्षिणी छिमेकी भारत तर्फबाट भएको उच्चस्तरीय भ्रमण थियो। 

आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेलगत्तै भारतीय विदेश सचिवले सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए। भारतीय सचिवसँगको भेटबारे ओलीको सचिवालयले मिडियालाई संक्षिप्त जानकारी गराउँदै ‘द्विपक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारे’ छलफल भएको बतायो। 

शिष्टाचार भेटका लागि आएका ‘भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको’ समेत प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भारतका तर्फबाट ओलीलाई भ्रमणको निम्तो आए/नआएको बारे प्रधानमन्त्री सचिवालय सोमबार साँझसम्म मौन छ। परराष्ट्र मन्त्रालय स्रोतले भने विदेश सचिव मिस्री मार्फत ओलीलाई मोदीले भारत भ्रमणका लागि निम्तो नपठाएको जानकारी दियो।

‘उच्चस्तरको भ्रमणलाई निरन्तरता दिनुपर्छ भन्ने त सधैँ नै छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘तर, ‘स्पेसिफिक’ निमन्त्रणा (भारतबाट आएको)भन्ने चाहिँ होइन। उच्चस्तरको भ्रमण हुनुपर्छ भन्नेमा दुवै पक्ष सहमत हो। तर, औपचारिक निमन्त्रणा चाहिँ होइन।’

सामान्यतया कूटनीतिमा एक पक्षले भ्रमणको निम्तो दिँदा औपचारिकताका लागि सही, अर्को पक्षले पनि निमन्त्रणा दिने गरिन्छ। ओलीले मोदीलाई नेपाल आमन्त्रण गर्दा भारत मौन बस्नुमा कतिपयले ओली सरकार र भारतको मोदी सरकारबीच विश्वासको विकास भइनसकेको रुपमा अथ्र्याएका छन्।

नेपाल–भारत सम्बन्धका एक जना अग्रज विज्ञ, पूर्वराजदूत लोकराज बराल सत्तामा रहेका पार्टीहरूबीच तिक्ततापूर्ण सम्बन्ध भए पनि छिमेकी देश भएकाले एकअर्कासँगको व्यवहार टार्न नसकिने बताउँछन्।

‘जस्तोसुकै सम्बन्ध भए पनि एकअर्कासँग डिल गर्नैपर्छ,’ बरालले भने, ‘मन परे पनि नपरे पनि एकअर्कासँग सम्बन्ध राख्नै पर्ने हुन्छ।’

अर्का कूटनीतिज्ञ डा.दिनेश भट्टराईचाहिँ नेपालका प्रधानमन्त्रीले सधैँ भारत भ्रमणमै जानुपर्छ भन्ने नभएको तर्क गर्छन्।

‘हामी मात्रै कति जाने’, उनको टिप्पणी छ, ‘हाम्रो प्रधानमन्त्रीले बोलाएको ठिकै छ।’

नेपाल आएपछि भारतका प्रधानमन्त्री मोदीले हाम्रा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सक्ने भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘मोदी आएपछि जाने बेलामा मेरो भ्रमण सकियो, तपाईंलाई म भारतमा स्वागत गर्न चाहन्छु भनेर निम्तो दिइहाल्नुहुन्छ नि।’

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार ओलीले भ्रमणको निम्तो दिएको भए पनि मोदी तत्काल नेपाल आइहाल्ने कुनै योजनामा छैनन्।

आफ्नो कार्यकालको पहिलो भ्रमणमा ओली थाइल्यान्ड जाँदैछन्। उनी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुनेछन्। बिमस्टेक शिखर सम्मेलन भदौ १९ गते हुँदै छ। ओलीको उक्त भ्रमण द्वीपक्षीय समेत हुनेछ। त्यसका लागि नेपाल र थाइल्यान्डले तयारी गरिरहेका छन्। 

प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने तयारीमा रहेको उनको सचिवालयका अधिकारीहरूले बताएका छन्। त्यसैले पनि ओलीको तत्काल भारत भ्रमण हुने अवस्था नरहेको उनीहरूको भनाइ छ।

२०७२ सालदेखि नै ओली र मोदीका बीचमा विश्वासिलो सम्बन्ध बन्न सकेको छैन। २०७२ मा नेपालले संविधान जारी गरेपछि भारतले असन्तुष्टि जनाएको थियो। लगत्तै ६ महिना लामो अघोषित नाकाबन्दी समेत गरेको थियो। ओली नै त्यतिबेला प्रधानमन्त्री थिए। ओलीले भारतीय नाकाबन्दीको प्रधानमन्त्रीका रुपमा प्रतिवाद गरेका थिए। त्यसमा अरु सबै राजनीतिक दलको समेत साथ थियो। 

भारतले १६ कात्तिक २०७६ मा नेपाली भूमि कालापानी, लिपुलेक समेत समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्‍यो। त्यतिबेला पनि ओली नै प्रधानमन्त्री थिए। नेपालले नक्साको जवाफ नक्साबाटै दियो। नेपालको संसदबाट ३१ जेठ २०७७ मा सर्वसम्मतिले नयाँ ‘चुच्चे नक्सा’ पारित भयो। प्रधानमन्त्री ओलीलाई नयाँ नक्सा सार्वजनिक गर्ने कदममा पनि नेपालका सबै दलको साथ थियो। यद्यपि, भारतको तारोमा ओली परेका थिए।

प्रधानमन्त्री ओली र भारतको संस्थापन पक्षबीच रहेको यो तिक्तता अझै मेटिन सकेको देखिएको छैन। नेपाली कांग्रेससँग सहकार्यको सम्झौता गर्दै ओली ३० असारमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भए। भारतका प्रधानमन्त्री मोदीले तत्कालै बधाई दिए पनि ओलीप्रति नयाँ दिल्ली अझै सशंकित नै रहेको भाव भारतीय संस्थापन पक्षका कूटनीतिज्ञ र मिडियामार्फत झल्कियो। बरु, सरकारको सारथि रहेको कांग्रेसले ‘ओलीका एकपक्षीय कदममा ब्रेक लगाइदिने’ आशा उनीहरूले व्यक्त गरेका थिए।

मिस्रीले काठमाडौँमा सबै भेटघाट सकेर भारतीय वायु सेनाको विशेष विमानबाट दिल्ली उड्नुअघि अन्तिम भेट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग गरे, जसबाट उनले प्रधानमन्त्री ओलीलाई एउटा राजनीतिक सन्देश दिन खोजेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .