ad ad

राजनीति


नयाँ दिल्लीमा आरजुसँग छोरा, बुहारी, भाइ र आमा, ‘बुलेट प्रुफ’ गाडीको सुरक्षा

नयाँ दिल्लीमा आरजुसँग छोरा, बुहारी, भाइ र आमा, ‘बुलेट प्रुफ’ गाडीको सुरक्षा

नेपालखबर
भदौ २, २०८१ आइतबार १८:२०, काठमाडौँ

पाँच दिने भ्रमणका लागि आइतबार (भदौ २) भारत गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा परिवारका सदस्यहरूको दलबलसहित नयाँ दिल्लीमा रहेको खुलेको छ।

भारतीय समकक्षी एस जयशंकरको औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणासँगमा छोरा, बुहारी, भाइ, आमालगायतका सदस्य पनि रहेका छन्। 

स्रोतका अनुसार, परराष्ट्रमन्त्री राणाका छोरा जयवीर सिंह देउवा, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि नयाँ दिल्लीमा छन्। 

मन्त्री राणालाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ। राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेड प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो। 

नयाँ दिल्ली पुगेसँगै उनी साकेटस्थित सेराटन होटलमा भेटघाटका कार्यक्रम गरिरहेकी छन्। उनको बसाइँ पनि सोही होटलमा व्यवस्थापन गरिएको छ। परराष्ट्रमन्त्री राणाको स्वागतमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले आइतबार रात्रिभोजको आयोजनासमेत गरेको छ। 

परराष्ट्रमन्त्री राणाले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। 

राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए।

उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहे पनि डा. राणाको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए। 

उपचार र उच्चस्तरीय भ्रमण सम्पन्न गरेर मन्त्री राणा बिहीबार (भदौ ६ गते) स्वदेश फर्कनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .