ad ad

राजनीति


प्रधानमन्त्रीले बुझे खुम्बु हिमताल विस्फोट र क्षतिको प्रतिवेदन

प्रधानमन्त्रीले बुझे खुम्बु हिमताल विस्फोट र क्षतिको प्रतिवेदन

नेपालखबर
भदौ २, २०८१ आइतबार १८:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिबारे आज जानकारी लिएका छन्।

घटनास्थल पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा वस्तुगत अवस्थाबारे जानकारी गराइएको हो।

स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ।

क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनःनिर्माणको कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने जनाइएको छ। विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्वसूचना प्रणाली अपनाइएको कारण मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा रक्षामन्त्री राई, संघीय सांसद सोनाम ग्याल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हामु शेर्पालगायत उपस्थित थिए। 

त्यहाँको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .