माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेका महोत्तरीका एकयुवा तीन घण्टा नबित्दै कांग्रेसमा फिर्ता भएका छन्।
बुधबार बर्दिबासको विनायक होटलमा आयोजित एक कार्यक्रममा प्रचण्डको हातबाट टीका र खादा लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका बर्दिबास नगरपालिका- ७ का सुनिल यादव बुधबार दिउँसो कांग्रेसमै फिर्ता भएका हुन्।
प्रचण्डको हातबाट टीका लगाएर बुधबार बिहान माओवादीमा प्रवेश गरेको तीन घण्टापछि नै कांग्रेसका स्थानीय नेताले उनलाई कांग्रेसमा फिर्ता ल्याएका हुन्।
बर्दिबास नगरपालिका वडा- ७ का वडाध्यक्ष भोरिल यादवले माओवादी केन्द्रमा गएका सुनिल यादवलाई आफूले ३ घन्टा नबित्दै कांग्रेसमै फिर्ता ल्याएको बताए।
यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बर्दिबास नगरपालिका वडा नम्बर- ७ का सुनिल यादवलाई माओवादीमा प्रवेश गरेको ३ घन्टा नबित्दै पुनः नेपाली कांग्रेसमा फिर्ता ल्याइयो। जय नेपाल!’
माओवादीको मधेस प्रदेशस्तरीय बैठक चलिरहँदा बुधबार बिहान बर्दिबासमा कांग्रेस, एमाले, जसपासहित विभिन्न पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनीहरुलाई प्रचण्डले अबिर र खादा लगाएर स्वागत गरेका थिए।
प्रचण्डको हातबाट टीका र खादा लगाएको तीन घण्टा नबित्दै सुनिल यादव पुनः कांग्रेसमै फिर्ता गएका हुन्।
माओवादी छाडेर कांग्रेसमा फर्किएका यादवलाई बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री, कांग्रेस बर्दिबास नगर समितिका सभापति युवराज पोखरेल लगायतले स्वागत गरेका छन्।
Shares
प्रतिक्रिया