सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले समितिको अन्तिम प्रतिवेदन पढ्न नपाएको गुनासो गरेका छन्।
प्रतिवेदनको अन्तिम रूप अहिलेसम्म पढ्न नपाएको र नपढी हस्ताक्षर पनि नगर्ने उनले बताए।
सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद खनालले भने, ‘प्रतिवेदन छलफलकै क्रममा छ। प्रतिवेदनको अन्तिम रूप पाइसकेका छैनौँ। त्यो पाएपछि अध्ययन गरेर केही कैफियत रहेछ भने अझै परिवर्तन गरेर पारित गर्छौँ।’
रवि लामिछानेलाई दोषी किटान गरिएको विषयमा पनि उनले अनभिज्ञता प्रकट गरे।
‘भाषागत हिसाबले छलफल हुँदै छ,’ उनले भने, ‘मोटामोटी अहिलेसम्म देखिएका तथ्यहरूमै बसौँ। रवि लामिछानेले सहकारीबाट पैसा ल्याएको भन्ने नभेटिएको, उहाँ कुनै पनि सहकारीको सदस्य नरहेको, ऋण लिनलाई कुनै पनि सहकारीमा आवेदन नदिएको र उहाँले पत्यक्ष–परोक्षरूपमा पैसाको कारोबार गरेको नदेखिएकोले बाहिर आएको कुरा हल्ला हो, अनुमानमा गरिएको आकलन हो।’
गए राति ३ बजेसम्म समितिमा छलफल भएको थियो।
समितिको थपिएको म्याद असोज ६ गतेसम्म छ। समितिले आजै प्रतिवेदन सदनलाई बुझाउने गरी तयारी गरिरहेको सदस्यहरूले बताएका छन्।
Shares
प्रतिक्रिया