संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन्।
बुधबार नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे।
‘दुईटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। संकटबाट जोगाउँदै देशको दूरगामी परिवर्तनका लागि एक ठाउँमा आएका हौँ। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ। ०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्नेछ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन। राष्ट्रको हितका पक्षमा माओवादी, राप्रपा, रास्वपा लगायतका दलहरू समेत एक ठाउँमा आउन जरूरी छ।’
उनले १० वर्षमा संविधानलाई पुनरवलोकन गर्नुपर्ने बेला आइसकेको भन्दै संविधान संशोधन गर्नुपर्नेमा जोड पनि दिए।
मन्त्री पाण्डेले समानुपातिक, समावेशिताजस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको पनि प्रस्ट्याए। उनले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनुपर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण हुनुपर्ने औँल्याए।
त्यसैगरी संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नुपर्नेमा समेत उनले कार्यक्रममा जोड दिए।
Shares
प्रतिक्रिया