ad ad

राजनीति


पार्टीले उदारता देखाउँदा यौन तथा आर्थिक विकृति मौलाएको निष्कर्षसहित एमालेको यस्तो परिपत्र

पार्टीले उदारता देखाउँदा यौन तथा आर्थिक विकृति मौलाएको निष्कर्षसहित एमालेको यस्तो परिपत्र

नेपालखबर
असोज २, २०८१ बुधबार १८:३०, काठमाडौँ

नेकपा एमालेले यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्नेप्रति उदारता देखाउँदा पार्टीभित्र विकृति मौलाएको निष्कर्ष निकालेको छ।

राष्ट्रिय राजनीतिमा निर्णाय शक्ति बन्ने उद्देश्यसाथ एमालेले तयार गरेको वार्षिक कार्ययोजनासम्बन्धी महासचिव शंकर पोखरेलको प्रतिवेदनमा यो निष्कर्ष निकालिएको छ।

पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्न पनि एमालेले मातहत कमिटीहरूलाई परिपत्र गरेको छ।

‘जनताले उचित नठान्ने काम कारबाहीबाट हामीहरू जोगिनुपर्छ। तर पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखा पर्न थालेका छन्,’ पार्टी पंक्तिलाई पठाइएको उक्त १८ बुँदे कार्ययोजनाको १२ औँ बुँदामा लेखिएको छ, ‘आफूलाई अरूभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखापरेका छन्। प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलापसमेत देखा पर्न थालेका छन्। आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किँदै छन्। यस्तो प्रवृत्तिले नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ। हामीले आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूका सन्दर्भमा अनावश्यक उदारता या उदासिनता देखाउँदा र यसलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ।’

पार्टी जीवनको शुद्धीकरण शीर्षक दिइएको उक्त खण्डमा बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट पार्टीका नेता-कार्यकर्ताका लागि नरहेको उल्लेख गर्दै लेखिएको छ, ‘हाम्रो कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ। हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमाअनुकूल हुनुपर्छ।’

पार्टी जीवनको शुद्धीकरणका सन्दर्भमा एमालेले पाँचबुँदे निर्देशन पनि जारी गरेको छ।

निर्देशनमा आर्थिक पारदर्शिताका लागि वार्षिक बजेट प्रणालीलाई कडाइका साथ लागू गर्ने, सबै कमिटीहरूले आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने, आर्थिक बक्यौता रहेकाहरू कसैलाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उमेद्वार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भनिएको छ।

यस्तै आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य–तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्ने, राजनीतिक रूपमा प्रतिशोध साँध्न लगाइने झुटा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्ने, मुद्दाको प्रकृति हेरी मुद्दा चलाइएकाहरूले कानुनबमोजिमको छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने, फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने, दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने भनी एमालेले मातहत निकायमा परिपत्र गरेको छ।

पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्न पनि एमालेको परिपत्रमा उल्लेख छ।

पार्टी जीवनको शुद्धीकरणसम्बन्धी पार्टी निर्णय र जारी आचारसंहिताको कडाइका साथ पालना गर्ने-गराउने निर्देशन पनि महासचिव पोखरेलद्वारा जारी परिपत्रमार्फत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .