काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी छन्।
प्रस्थानका क्रममा उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहितका अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बुधबार बिदाइ गरे।
डंगोलसँगै मनोनयनमा परेका परशुराम नगरपालिकाका प्रमुख भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भने बिहीबार अमेरिका प्रस्थान गर्दै छन्।
‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ' भन्ने नाराका साथ महासभा भदौ २७ गते नै सुरु भइसकेको छ।
उपप्रमुख डंगोल महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा सहभागी हुन काठमाडौँस्थित राष्ट्र संघीय प्रतिनिधि कार्यालय र नेपाल सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको थियो।
महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपप्रमुख डंगोल सहभागी हुनेछिन्। प्रधानमन्त्री ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।
Shares
प्रतिक्रिया