ad ad

राजनीति


वामदेवको ठहरः ओलीले झुक्याए, एमसीसी संशोधनपछि मात्रै अनुमोदन

वामदेवको ठहरः ओलीले झुक्याए, एमसीसी संशोधनपछि मात्रै अनुमोदन

सागर न्यौपाने
असार ५, २०७७ शुक्रबार १३:१४,

अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपाभित्र चर्को विवाद चलिरहेको छ।

यहीबेला उपाध्यक्ष वामदेव गौतम पनि बिनासंशोधन एमसीसी अनुमोदन गर्न नहुने पक्षमा खुलेर लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली थप दबाबमा परेका छन्।

ओलीले ९ सदस्यीय सचिवालयका प्रभावशाली नेता गौतमलाई साथ लिएर एमसीसी अनुमोदनलाई अघि बढाउने योजना बनाएका थिए।

तर, गौतम अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने कुरामा अडिग रहेको उनको निजी सचिवालय बताउँछ।

‘एमसीसीका कतिपय प्रावधान परिमार्जन नगरी अनुमोदन गर्न नहुने उपाध्यक्ष गौतमको अडान छ,’ गौतमका निजी सचिव विश्वमणि सुवेदीले नेपालखबरसँग भने।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा पनि एमसीसीलाई यथावस्थामा अनुमोदन गर्न नहुने पक्षमा उभिएका छन्।

प्रवक्ता श्रेष्ठले एमसीसी ससर्त अनुमोदन गर्नुपर्ने बताएका छन्।

यससँगै सचिवालयमा एमसीसीको विपक्षमा स्पष्ट बहुमत देखिएको छ।

एमसीसीबारे अध्ययन गर्न नेकपा केन्द्रीय समितिले माघमा झलनाथ खनाल नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित ३ सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलले पार्टीमा बुझाएको प्रतिवेदनमा पनि एमसीसीका कतिपय प्रावधान परिमार्जन नगरी अनुमोदन गर्न नहुने उल्लेख छ।

‘खनाल कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न गौतमले प्रधानमन्त्रीलाई स्पष्ट सुझाव दिनुभएको छ,’ सुवेदीले थपे,’ सुवेदीले थपे।

पार्टीमा छलफल नगरी बजेटमा एमसीसी योजना समावेश गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडासँग पनि गौतमले असन्तुष्टि जनाएको उनले बताए।

‘पार्टीभित्र विवादित एमसीसीलाई बजेटमा समेत समेटिएपछि अर्थमन्त्रीसँग पनि उहाँले विरोध गर्नुभएको थियो,’ सुवेदी भन्छन्।

नेकपाले जेठ २७ र ३२ गते बोलाएको सचिवालय बैठकको मुख्य एजेन्डा एमसीसी नै थियो। तर, अन्तिम समयमा आएर ओलीले दुवै बैठक स्थगित गरेका थिए।

यस विषयमा छलफल गर्न नेकपाले असार १० गते स्थायी समितिको बैठक बोलाएको छ।

गठबन्धनमै सक्रिय छन् गौतम
अध्यादेश प्रकरणका कारण सरकार संकटमा परेपछि वैशाख १७ गते प्रधानमन्त्री ओलीले गौतमलाई महामारीपछिको प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए। त्यसपछि ओलीतिर ढल्किएका गौतमले पछिल्लो समय त्यो सत्ता लम्ब्याउने ओलीको चाल मात्रै भएको बुझेका छन्।

जसका कारण उनी सचिवालयका बहुमत सदस्यहरुको गठबन्धनमै सक्रिय रहेको उनको सचिवालय बताउँछ।

‘प्रधानमन्त्रीको व्यवहार हेर्नको लागि केही समय उता लाग्नुभएको हो, तर प्रधानमन्त्रीले अलमल्याउन थालेपछि उहाँ गठबन्धनमै सक्रिय हुनुहुन्छ,’ सुवेदीले दाबी गरे।

प्रधानमन्त्रीले व्यक्तिगत रुपमा पार्टी चलाउन थालेपछि समस्या बढ्दै गएको गौतमको बुझाइ छ।

गौतमले अब बस्ने जुनसुकै पार्टीको बैठकमा पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी संस्थागत रुपमा नचलाएको, पार्टीका निर्णय र सहमति पालना नगरेको, व्यक्तिकेन्द्रित बनाएर अस्तव्यस्त पारेको लगायतका विषय उठाउने तयारी पनि गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .